काठमाडौं- पहिले साउदी अरब र त्यसपछि जापानको सफलताले उत्साही एसियाको अनुभवी देश दक्षिण कोरिया विश्वकपअन्तर्गत बिहीबार समूह ‘एच’ चरणको पहिलो खेल खेल्न पूर्वविश्व च्याम्पियन उरुग्वेविरूद्ध मैदानमा उत्रिँदैछ।
कोरियाको यो ११औं विश्वकप सहभागिता हो। उसले पूर्वविश्व विजेता ब्राजिल, अर्जेन्टिना, जर्मनी र स्पेनजस्तै सन् १९८६ देखि अनवरत विश्वकपमा सहभागिता जनाउँदै आइरहेको छ।
सन् २००२ को विश्वकपमा सेमिफाइनल पुगेर सनसनी मच्चाएको कोरिया ठूलो उलटफेर गर्ने क्षमता राख्छ। त्यसैले बिहीबार नेपाली समयअनुसार पौने ७ बजे दोहाको एजुकेसन रंगशालामा उत्रिदा कोरियासँग एसियाको फुटबल बिरासतलाई जोगाइराख्ने चुनौती पनि हुनेछ।
१५ वर्ष उरुग्वेको प्रशिक्षक बनेका ओस्कार टाबारेजलाई छुट्टि दिँदै डिएगो अलोन्सोलाई टिमको नेतृत्व सुम्पिएको ‘ला सेलेस्ते’ टोली अहिले राम्रो फर्ममा छ। उनको प्रशिक्षणमा विश्वकप छनोटलाई उरुग्वेले सहज बनाएको थियो।
टाबारेज हुँदा ब्राजिलबाट ४–१ र बोलिभियाबाट ३–० को पराजय भोगेको उरुग्वेको झण्डै विश्वकप सहभागिता ओझलमा परेको थियो। अलोन्सोको आगमनपछि उरुग्वेले लगातार ४ खेल जितेर छनोटमा फर्किएको थियो।
लुइज सुआरेज, इडिन्सन काभानी, म्याक्सी गोमेज, डार्विन नुनेज जस्ता प्रतिभाशाली खेलाडीले भरिएको उरुग्वेले पछिल्लो समय विपक्षी टोलीविरूद्ध २ गोलको औसतले गोल हानिरहेको छ।
पोर्चुगिज प्रशिक्षक पाउलो बेनिटोको निगरानीमा रहेको दक्षिण कोरियामा टोटेनहामका स्ट्राइकर सन हङ–मीन फर्किनु ठूलो राहतको रूपमा हेरिएको छ। च्याम्पियन्स लिगको खेलमा घाइते भएका सनको पुनरागमनलाई लिएर ठूलो आशंका जनाइएको थियो। उनको आगमनले कोरियाली टोली मानसिक रूपमा बलियो देखिएको छ।
फेनरबाच्सेबाट व्यवसायिक फुटबल खेल्ने ६ फिटे डिफेन्डर किम मिन–जेबाट कोरियाले थुप्रै आशा राखेको छ। उनी विश्वकप छनोटको सबै खेलमा कोरियाली टोलीका लागि उपलब्ध थिए। मर्लोकाबाट खेल्ने मिडफिल्डर ली काङ–इनको खेलले पनि आज धेरै प्रभाव पार्नेछ।
कोरिया र उरुग्वेबीच विश्वकपमा हालसम्म दुई पल्ट भिड्न्त भएको छ। जसमा दुवै पल्ट उरुग्वे विजयी भएको छ। सन् १९९० मा उरुग्वे १–० र २०१० मा २–१ ले विजयी भएको थियो। २०१० मा सुआरेजले गोल गरेका थिए। यतिबेला कोरियाली प्रशिक्षक बेनिटोको खेल खेलाउने शैलीलाई लिएर केहिले आलोचना पनि गरेका छन्। तर, कोरियाले विश्वकपको समूह चरणको खेलमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।