काठमाडौं– नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन्।
पराजित भएसँगै थापाले सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको प्रतिक्रिया दिएका छन्। थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, ‘पराजयलाई सहर्ष स्वीकार गर्दछु। हामीलाई मत दिनुहुने सबैमा आभार। सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद।’
उनले चुनावमा एमालेका नेता, कार्यकर्तालाई ‘कमरेडहरु’ भन्दै आभार व्यक्त गरेका छन्। ‘चुनावमा रातदिन नभनी इमान्दारपूर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु, राप्रपा नेपालका साथीहरुप्रति आभारी छु।’
थापाले आफू देश र जनताको हितमा निरन्तर सक्रिय रहने पनि बताएका छन्। उनले २०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी रहेको बताएका छन्।
‘प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो। व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ,’ थापाले लेखेका छन्, ‘सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।