काठमाडौं- लमजुङको अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएको छ। एउटा मात्रै जिल्ला रहेको लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। सुरुवातमा माओवादीका देव गुरुङले अग्रता लिएको भए पनि मतगणना अन्तिमतिर जाँदै गर्दा पछि पर्दै गएका थिए।
यस्तो छ, अन्तिम मत परिणामः
पृथ्वीसुब्बा गुरुङ/एमाले- ३४९६९
देवप्रसाद गुरुङ/माओवादी केन्द्र- ३१७८१
धर्मराज केसी/रास्वपा- ९०२९
यस क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा निर्वाचनमा देव गुरुङ विजयी भएका थिए। पृथ्वी सुब्बा गुरुङ पनि यही जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका थिए।
६४ वर्षीय पृथ्वीसुब्बा गुरुङ एमालेका उपमहासचिव हुन्। उनी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पनि हुन्। उनी २०७४ देखि २०७७ सम्म सो प्रदेशको मुख्यमन्त्री बनेका थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा उनी लमजुङ- १ (ख)बाट निर्वाचित भएका थिए।
उनी २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ- २ बाट निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने पराजित हुन पुगे। उनी २०६३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।