काठमाडौं- प्रतिनिधि सभाको समानुपातिकतर्फको मत गणना पनि जारी छ। समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ। बुधबार बेलुकासम्म ९ लाख ९ हजारभन्दा बढी मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।
९ लाख ९ हजार ९५२ मत गणना गर्दा नेकपा एमालेले सर्वाधिक २ लाख ५४ हजार २ मत पाएको छ। अहिलेसम्म गणना भएको कुल मतमा एमालेले पाएको मत २७. ९१ प्रतिशत हो।
एमालेलाई पछ्याइरहेको कांग्रेसले अहिलेसम्म २ लाख ३० हजार ३७० मत पाएको छ। जुन २५.३२ प्रतिशत हो।
तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १ लाख २० हजार ४१७ मत पाएको छ। जुन १३.२३ प्रतिशत हुन आउँछ।
चौथोमा रहेको माओवादी केन्द्रले १ लाख ५ हजार १९१ मत पाएको छ। उसले पाएको मत ११.५६ प्रतिशत हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ६२ हजार १५१ मत पाएको देखिन्छ। पाँचौँ स्थानमा रहेको राप्रपाले ६.८३ प्रतिशत मत पाएको छ।
नेमकिपा र जसपाले २ प्रतिशतभन्दा केही बढी मत पाएका छन्। जनमत, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले १ प्रतिशतभन्दा केही बढी मत पाएका छन्।
समानुपातिकमा दलहरुले प्राप्त गर्ने मतको प्रतिशत अहिलेको ट्रेन्डमा रहेमा एमाले र कांग्रेसलाई केही बढी र माओवादी केन्द्रलाई केही कम नोक्सान पुग्ने देखिन्छ। २०७४ को निर्वाचनमा एमालेले ३२.२४ प्रतिशत मत पाएको थियो। कांग्रेसले भने ३२.७७ प्रतिशत मत पाएको थियो। त्यस्तै, माओवादी केन्द्रले १३ प्रतिशत मत पाएको थियो। त्यतिबेला ती दलले क्रमशः ४१, ४० र १७ सिट पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।