काठमाडौं– प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराई निर्वाचित भएका छन्।
भट्टराईले सत्तागठबन्धनका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पछि पार्दै जित निकालेका हुन्।
भट्टराईले २१ हजार ९४३ मत ल्याउँदा बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएर सम्मानजनक हार ब्योहोरेका छन्।
५६ वर्षीय भट्टराई विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। संसदीय राजनीतिमा ०६४को पहिलो संविधान सभाको निर्वाचनबाट प्रतिस्पर्धा गरेका भट्टराई यो सहित चौथो पटक प्रतिस्पर्धामा थिए।
०६४ र ०७० को निर्वाचनमा काठमाडौंबाट प्रतिस्पर्धा गरेका भट्टराई पछिल्लो २ निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बनेर दोहोर्याएर जित निकालेका छन्।
काठमाडौं केन्द्रित राजनीति गरेका भट्टराईलाई काठमाडौंले संसदीय राजनीतिमा उपस्थिति नगराएपछि भट्टराई ०७४ को निर्वाचनमा आफ्नो गृहजिल्ला ताप्लेजुङ पुगेका थिए।
०७४को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन बामगठबन्धनको रुझान र ताप्लेजुङको लागि केन्द्रीय नेताको हैसियतमा पुगेका भट्टराईलाई त्यहाँका मतदाताले २९ हजार ४ सय ७९ मतले विजयी बनाएर पठाएका थिए।
उक्त निर्वाचनमा भट्टराई आफ्ना प्रतिद्वन्द्विलाई १२ हजार बढी मतान्तरले पछि पार्दै विजयी बनेका थिए। यो निर्वाचनमा भट्टराईले आफ्नो जितलाई निरन्तरता दिएका छन्। यो जितसँगै उनले जित हार बराबर गरेका छन्।
भट्टराई यस बीचमा केपी ओली नेतृत्वको सरकारमा ०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।