काठमाडौं– नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक ठूला राजनीतिक दलहरुलाई चुनौती दिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नकपा माओवादी केन्द्रसहितका दलहरूलाई रवि लामिछानेको नेतृत्वको पार्टीले चुनौती दिएको छ। ‘घण्टी’ चुनाव चिह्न लिएर होमिएको स्वतन्त्र पार्टीको शहरीदेखि ग्रामिण भेगसम्म लहर देखिएको छ। प्रत्यक्षदेखि समानुपातिकसम्म उक्त पार्टीमा आर्कषण देखिएको छ।
उक्त पार्टीले हालसम्म काठमाडौंका ४ स्थानमा जित हात पारेको छ। स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर–२ मा सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौ– ६ मा शिशिर खनाल निर्वाचित भएका छन्।
काठमाडौ–२ मा गौतमले एमालेका मणिराम फुयाललाई पराजित गरिन्। प्रमुख राजनीतिक दलहरुले उक्त क्षेत्रमा महिला उम्मेदबार उठाएका थिए । उक्त क्षेत्रमा सत्ता गठवन्धनले पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाएको थियो। यो क्षेत्रमा राप्रपाले पनि कुन्ती पोख्रेललाई उम्मेदवार बनाएको थियो। यो क्षेत्रमा तीन महिला उम्मेदवारको प्रतिस्पर्धा देखिएको थियो ।
काठमाडौ–६ मा स्वतन्त्र पार्टीबाट शिशिर खनालले जित हात पारे । उनले एमालेका सर्वेन्द्र खनाललाई पराजित गरे। उक्त क्षेत्रमा कांग्रेसले भीमसेनदास प्रधानलाई उम्मेदवार बनाएको थियो। उनी ०७४ सालमा निर्वाचित भएका थिए। यसपटक उनी तेस्रो स्थानमा सीमित भए।
त्यस्तै, स्वतन्त्र पार्टीले काठमाडौं– ७ मा पनि जित हात पारेको छ। चर्चा कम रहेको उक्त क्षेत्रमा गणेश खनालले जित हात पारे। उनले सत्ता गठबन्धनको उम्मेदवार मानुषी यमी भट्टराई र एमालेका श्यामकुमार घिमिरेलाई पछि पार्दै जित हात पारे। अघिल्लो पटक एमालेका रामवीर मानन्धरले जितेको उक्त क्षेत्र यसपटक स्वतन्त्रले हात पारेको छ।
त्यसैगरी, काठमाडौ– ८ मा विराजभक्त श्रेष्ठले जित हात पारे। प्रमुख दलपछि परेको उक्त क्षेत्रमा नयाँ दलका विचमा प्रतिस्पर्धा देखिएको थियो। लौरो चिह्न लिएर उठेका सुमन सायमीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्। उनी विवेकशील साझा अभियानमा सक्रिय रहँदै आएका थिए। स्वतन्त्र पार्टीले चार स्थानमा अग्रता कायम गरेको छ। चितवन– १ र २ मा स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ।
विजयी:
काठमाडौं– २ सोविता गौतम
काठमाडौ– ६ शिशिर खनाल
काठमाडौं– ७ गणेश पराजुली
काठमाडौ– ८ विराजभक्त श्रेष्ठ
अग्रता:
रवि लामिछाने चितवन– २
हरि ढकाल चितवन– १
लालविक्रम थापा सुनसरी– २
तोसिमा कार्की ललितपुर– ३।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।