काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ।
हालसम्म २६ स्थानमा मतगणना सम्पन्न भएको छ। हालसम्म नेपाली कांग्रेसले १३ स्थानमा जित हात पारेको छ। कांग्रेसले ४२ स्थानमा अग्रता कायम गरेको छ।
नेकपा एमाले ५ स्थानमा जित हात पार्दै दोस्रो नम्बरमा रहेको छ। एमालेले ३९ स्थानमा अग्रता कायम गरेको छ।
नेपाली काग्रेसबाट यसरी निर्वाचन हुनेमा ३ जना पहिलो पटक प्रतिनिधि सभामा प्रवेश गर्दै छन्। काठमाडौं–३ बाट निर्वाचित भएका सन्तोष चालिसे पहिलोपटक प्रतिनिधि सभामा सांसद हुँदै छन्। गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर रहेका उनी क्षेत्र–३ को पार्टी सभापतिसमेत हुन्।
त्यस्तै काठमाडौबाटै अर्का युवा नेता प्रदीप पौडेल पनि पहिलोपटक प्रतिनिधि सभामा पुगेका छन्। उनी काठमाडौ–५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै निर्वाचित भएका हुन्। यसअघि उनी तनहुँबाट प्रदेश सभामा उम्मेदवार भएका थिए। तर उनी झिनो मतले पराजित भएका थिए।
यसपटक उनी तनहुँ छोडेर काठमाडौं–५ मा उम्मेदवार भएका थिए। त्यस्तै यस पटक नयाँ अनुहारका रुपमा आएका युवा हुन् योगेश गौचन थकाली।
२९ वर्षका थकाली रोमी गौचनका छोरा हुन्। पूर्वमन्त्री गौचनले यसपटक आफूले पाएको टिकट छोरालाई दिएका थिए। उनले मुस्ताङबाट बाबुका प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचन जितेका हुन्।
उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरे। त्यस्तै यसपटक ०७४ सालमा पराजित भएका केही नेताहरुले पुनरागमन गरेका छन्।
२०७४ सालमा पराजित भएका ललितपुर–१ मा उदय शमशेर राणा, सुर्खेतबाट हृदयराम थानी, तनहुँ–२ मा शंकर भण्डारी र पर्सा–४ बाट रमेश रिजालले पुनरागमन गरेका छन्।
त्यस्तै यसपटक काठमाडौ–१ बाट प्रकाशमान सिंह, काठमाडौ–४ बाट गगनकुमार थापा, मनाङबाट टेकबहादुर गुरुङ, काठमाडौ–१० मा राजेन्द्रकुमार केसी र डडेलधुराबाट शेरबहादुर देउवाले आफ्नो जितलाई कायम राखेका छन्।
यी हुन् कांग्रेसबाट जित हात पारेका उम्मेदवारहरु
१–प्रकाशमान सिंह, काठमाडौं–१
२–सन्तोष चालिसे, काठमाडौं–३ (नयाँ)
३–गगनकुमार थापा, काठमाडौं–४
४–प्रदीपकुमार पौडेल, काठमाडौ–५ (नयाँ)
५–योगेश गौचन थकाली, मुस्ताङ (नयाँ)
६–मोहन आचार्य, रसुवा
७–टेकबहादुर गुरुङ, मनाङ
८–राजेन्द्रकुमार केसी, काठमाडौं–१० (ह्याट्रिक)
९–उदय शमशेर राणा, ललितपुर– १ (पुनरावगमन)
१०–हृदयराम थानी, सुर्खेत २ (पुनरावगमन)
११–शंकर भण्डारी, तनहुँ २ (पुनरागमन)
१२–शेरबहादुर देउवा, डडेलधुरा (सातौंपटक)
१३–रमेश रिजाल, पर्सा–४ (पुनरागमन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।