काठमाडौं– आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन्।
जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह कर दिवस समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन्। शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका चेयरम्यान हुन्। यो समूह अन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी छ।
यी कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक, रुस्लान भोड्का, ब्लु डाइमण्ड जिन, बडवाइजर वियर, वार्सटाइनर वियर लगायतका मदिरा उत्पादन गर्छन्।
शाह २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भएका थिए।
आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ। नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ। शिवशक्ति घ्युबाट निर्यात कारोबारबाट धेरै कर तिर्ने कम्पनी बनेको छ।
राजेश मेटलप्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ।
ओसीबी फुड्स प्रालि कृषि एवम् पशुपन्छी आयकरदाता बनेको छ। छिमेक लघुवित्त सहकारी तथा लघुवित्त आयकरदाता र नबिल बैंक तथा वित्तीय संस्थातर्फको ठूलो आयकरदाता ठहर भएको छ।
बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित भएको छ।
पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रालि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेको छ।
मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड उत्कृष्ट ठहरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।