काठमाडौं- काठमाडौं- २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतमले सदनमा गएर बोल्ने पहिलो मुद्दा खानेपानी हुने बताएकी छिन्। बुधबार जितपछि आयोजित विजयोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले पानी पाउनबाट कोही पनि वञ्चित हुन नहुने बताइन्।
'काठमाडौं- २ का धेरै समस्याहरु छन्। यी समस्याहरुलाई सम्बोधन गर्नका निम्ति मैले आफ्ना घोषणापत्रमा पनि लेखेको थिएँ। यहाँका मुद्दाहरुलाई सदनमा निरन्तर उठाउने छु। र सम्बोधन गर्न प्रयास गर्नेछु', उनले भनिन्, 'एउटा कुरा छ, खानेपानीको समस्या हामी सबैले भोगेको। सदनमा गएर बोल्ने पहिलो मुद्दा खानेपानी नै हुनेछ। किनभने पानी पाउनबाट कोही पनि वञ्चित हुनु हुँदैन। म यो कुरा बोल्नेछु सधैँभर।'
उनले आफ्नो शरीर सानो भए पनि समर्थकको बल कति ठूलो रहेछ भन्ने अनुभूत गर्न पाएको बताइन्। उनले काठमाडौं- २ को जनता सचेत रहेको बताइन्। 'अब हाम्रो परिवर्तनको सुरुवात भइसकेको छ। यहाँहरु आत्तिनुपर्दैन', उनले भनिन्।
उनले आफू कलिलो उमेर राजनीतिमा प्रवेश गर्दा दिइएको विश्वास र आँटबाट आफू देशलाई परिवर्तन गर्न आफू विश्वस्त भएको बताइन्। उनले सहकार्य र खबरदारीका लागि अपील गरिन्। 'एकीकृत तरिकाले विकासका लागि लड्नुपर्छ', उनले भनिन्, 'वाद र सिद्धान्तका लागि लड्दै गरौँला, पछि पनि समय छ।'
उनले काठमाडौं- २ ले पाएको सांसद् (आफू)ले इतिहास रच्ने बताइन्। 'यहाँबाट राष्ट्रपति पनि हुनुभएको थियो। प्रधानमन्त्री पनि हुनुभएको थियो। अब महिला निर्वाचित भएर पठाउनुभएको छ। अब महिला निर्वाचित गरेर पठाउनुभएको छ। यो महिलाले पनि इतिहास रच्नेछ। यहाँहरुले हेर्दै गर्नुहोला। भविष्यमा यहाँहरुले गर्व गर्नुहुनेछ कि हामीले यस्तो सांसद जिताएर पठायौँ। यहाँहरुको सपनाको प्रतिनिधित्व मैले गर्नेछु अब', उनले भनिन्।
आफूहरु पराजित भएकाहरुको मुद्दा पनि आफैंले बोक्ने भन्दै उनले ती उम्मेदवार नहारेको बताइन्। 'काठमाडौं- २ ले जित्दै गर्दा उहाँहरुले कसरी पो हार्नुहुन्छ र? उहाँहरुको पनि जित्नुभएको छ', उनले भनिन्, 'उहाँहरुको प्रतिस्पर्धीभन्दा सम्भवतः सबैभन्दा कान्छो उम्मेदवार म नै थिएँ होला। मैले सबैको सपनालाई सदनमा लगेर उठाउनेछु। मेरो प्रतिस्पर्धी साथीहरु तपाईंहरु चित्त नदुखाउनुहोला। तपाईंहरुको आवाज म सदनबाट सधैँभर बोलिरहनेछु। हामी सहकार्य गरेर अगाडि बढिरहनेछौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।