काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ।
पछिल्लो परिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरसहितको अग्रता कायम राखेका छन्। ३३ हजार ३१५ मत गणना हुँदा प्रचण्ड प्रतिस्पर्धी उम्मेदवारभन्दा ११ हजार ७८६ मतले अगाडि छन्। प्रचण्डका प्रतिस्पर्धी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले ५ हजार ९६७ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा छन्। मियाँले ४ हजार ५९८ मत ल्याएका छन्। हालसम्म गणना भएकोमध्ये गोरखा २ मा १ हजार ८९५ मत बदर भएको छ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट तत्कालीन नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारको रुपमा डा बाबुराम भट्टराई विजयी भएका थिए। यसपटकको निर्वाचनमा भट्टराईले चुनाव नलड्ने घोषणा गर्दै प्रचण्डका लागि ‘ठाउँ खाली’ गरिदिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।