काठमाडौं– नवलपरासी पश्चिम–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपाका नेता तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजी) ध्रूवबहादुर प्रधानले आफ्नो जित पक्का गरेका छन्।
मतगणना अन्तिमतिर पुग्नै लाग्दा पूर्वआईजी प्रधान प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अघि छन्। पछिल्लो मत परिणामअनुसार प्रधानले १३ हजार ३ सय ५३ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले ६ हजार ५ सय १५ मत ल्याएका छन्।
नेकपा एमालेका दीपेन्द्रकुमार अधिकारीले ६ हजार १ सय ५३ मत ल्याएका छन्।
गणना हुन बाँकी मतलाई आधार मान्दा प्रधानको जित निश्चित भइसकेको छ। दोब्बरभन्दा बढी अन्तरले हराउँदै संसद छिर्ने यात्रा पक्कापक्की बनाएका प्रधानको राजनीतिक असफलता भने लामै छ।
आईजी भएको ३६ दिनमै सरकारले ०५३ चैतमा अच्युतकृष्ण खरेललाई हटाएर ध्रूबबबहादुर प्रधानलाई आईजी बनाएको थियो। त्यसविरुद्ध खरेल सर्वोच्च अदालत गएका थिए।
अदालतको आदेशमा पुनः ०५४ मंसिरमा प्रधानलाई हटाएर खरेल आईजीपी भए।
अदालतको आदेशपछि आईजीबाट हटेर ध्रूबबहादुर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए। सल्लाहकारबाट राजीनामा दिएर उनी ०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी–४ बाट चुनाव लडेका उनले हार ब्यहोरे। ०६४ र ०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्।
प्रत्यक्ष निर्वाचनमा पटक–पटक हार ब्यहोरेका उनी ०७४ को चुनावमा भने राप्रपाको समानुपातिक सूचीमा बसे। तर, ३ प्रतिशत थ्रेसहोल्डका कारण सांसद बन्ने उनको सपना पूरा हुन सकेन।
पटक–पटक असफलता ब्यहोरेका पूर्वआईजी प्रधान संसद् छिर्ने सपनासहित यो पटक फेरि राप्रपाबाट उम्मेदवारी दिएका छन्।
उनी निकटतम् प्रतिस्पर्धी कँडेलभन्दा ३ हजार ५ सय भन्दा बढी मतले अघि छन्। यही अवस्थालाई कायमै राख्दै अघि बढेमा चौथो पटकको प्रयासमा प्रधानको संसद् छिर्ने सपना पूरा हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।