काठमाडौं– काडमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी (राजन) विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
केसीले काठमाडौं १० बाट लगातार तेस्रो निर्वाचनमा जित निकालेका हुन्। यसअघि उनी २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।
२०३० सालमा कांग्रेसको विद्यार्थी संगठन नेवि संघमा आबद्ध भएर राजनीतिमा लागेका केसी २०७४ सालमा युवा तथा खेलकुदमन्त्री पनि बनेका थिए।
यसपटकको निर्वाचनमा केसी १४ हजार ४५८ ल्याएर विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा केसी माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेर विजयी भएका थिए। केसी २४ हजार १९० मतसहित विजयी हुँदा माओवादीका शाक्य २१ हजार ९०७ मतमा सीमित भएका थिए।
काठमाडौं १० मा सत्ता गठबन्धनको दल माओवादी केन्द्र पनि प्रतिस्पर्धामा थियो। माओवादी केन्द्रकी उम्मेदवार अञ्जना विशंखे भने चौथो स्थानमा रहिन्। उनले ५ हजार २६२ मत पाइन्।
माओवादीभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले ८ हजार ७३६ मत ल्याए।
जितपछि सञ्चारकर्मकीसँग कुरा गर्दै केसीले आफ्नो अजेन्डा आर्थिक विकास तथा रोजगारी भएको र त्यसको कार्यान्वयनका लागि लागिपर्ने बताए। अब सांसदका रुपमा आर्थिक विकास र रोजगारी सिर्जना गर्नेसम्बन्धी नीति निर्माणमा लाग्ने केसीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।