काठमाडौं– अछाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै सत्ता गठबन्धनका साझा उम्मेदवार कुँवर विजयी भएका हुन्।
विजयी कुँवरले १९ हजार ५३४ मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका झपट बहादुर बोहरा १५ हजार ४५ मतमा सीमित रहे।
यस्तै, स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए भने हाम्र पार्टी नेपालका तेज प्रसाद शर्माले १७९ मत ल्याए।
२०७४ सालको निर्वाचनमा अछाम १ बाट नेकपा एमालेका नेता भीम रावल विजयी भएका थिए। एमालेले यसपटक रावलको ठाउँमा बोहरालाई टिकट दिएको थियो। बोहरा २०७४ सालको निर्वाचनमा अछाम १ प्रदेश सभा (२) बाट माओवादी केन्द्रको उम्मेदवारका रुपमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
तत्कालीन नेकपा हुँदा सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री बनेका बोहरा नेकपा विभाजन हुँदा माओवादी परित्याग गरेर नेकपा एमालेमा गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।