काठमाडौं- प्रधानमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार शेरबहादुर देउवा डडेलधुराबाट पुनः विजयी भएका छन्। यो उनको सातौँ जित हो। २०४८ यताका सबै निर्वाचनमा उनले त्यहाँबाट जित निकालेका छन्।
अन्तिम मत परिणाम देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन्।
यस्तो छ अन्तिम मत विवरण-
शेरबहादुर देउवा/कांग्रेस- २५५३४
सागर ढकाल/स्वतन्त्र- १३०४२
कर्णबहादुर मल्ल/कांग्रेस बीपी- ७५३५
को हुन् देउवा?
७७ वर्षीय देउवा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति हुन्। २०१७ सालमा राजा महेन्द्रले गरेको 'कु'पछि राजनीतिमा सक्रिय भएका उनी २०२८ मा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको प्रथम सभापति बनेका थिए। २०४८ पछिका निर्वाचनमा उनी निरन्तर निर्वाचित हुँदै आएका छन्।
देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए। उनी २०६४ मा कञ्चनपुर- ४ र २०७० मा कैलाली- ६ बाट पनि विजयी भएका थिए। २०६४ को निर्वाचनपछि मात्रै उनले सत्ताको स्वाद लिन पाएनन्। नत्र, बाँकी सबै चुनावले उनलाई मन्त्री वा प्रधानमन्त्रीको रुपमा सत्ताको अंश बनाएको छ। २०४८ मा सांसद् बनेपछि उनी गृहमन्त्री भएका थिए।
२०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारलाई ढालेर २०५२ सालमा आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए। त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।