दोहा– साउदी अरेबियासँग विश्वकपकै सबैभन्दा अप्रत्यासित नतिजा भोगेका अर्जेन्टिनी कप्तान लियोेनल मेसीले माफीको कुनै गुञ्जाइस नभएको बताएका छन्।
मंगलबार कतारको लुसिल रंगशालामा पहिलो हाफमा एक गोलको अग्रता लिएको अर्जेन्टिना अन्ततः २–१ ले पराजित बनेको थियो।
अर्जेन्टिना यो विश्वकपमा उपाधिको सबैभन्दा ठूलो दाबेदारको रूपमा कतार आएको थियो। विश्वकपमा तेस्रो उपाधिको खोजीमा कतार भित्रिएको ‘ला अल्बिसेलेस्टे’ टिमका लागि मेसीले खेल सुरु भएको १० मिनेटमा नै पेनाल्टीमार्फत गोल गरेका थिए।
समूह ‘सी’ अन्तर्गत दोस्रो हाफको पाँच मिनेटभित्र सालेह अल सिहारी र सालेम अल दावसारीले गोल गर्दै अर्जेन्टिनालाई स्तब्ध तुलाए।
पत्रकार सम्मेलनमा मेसीले उनी र उनको टोलीका साथीहरूले हारको औचित्य प्रमाणित गर्न नखोजेको भन्दै साउदी अरेबियाविरूद्धको खेलपछि समूहको खेललाई नजिक ल्याएको प्रतिक्रिया दिए।
‘हारमा कुनै बहाना बनाउने कारण छैन,’ मेसीले पत्रकार सम्मेलनमा भने, ‘यो सबैका लागि ठूलो झट्का हो। हामीले यस्तो सुरुवातको अपेक्षा गरेका थिएनौं।’
उनले अब पहिलेभन्दा झन् एकजुट हुनुपर्ने औचित्य दर्र्शाउँदै आफूहरू सहभागी समूह बलियो भएको बताए।
‘उनीहरूले यो प्रमाणित गरेका छन्,’ उनले भने, ‘घटनाहरू केही उद्देश्यका लागि भएका हुन्छन्। हामीले आउने चुनौतीका लागि तयारी गर्नुपर्ने हुन्छ। हामीले जित्नैपर्ने हुन्छ र यो हामीमै निर्भर छ।’
साउदी अरेबियासँगको पराजयपछि अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा टुंगिएको छ। उसले मंगलबार साउदी अरेबियालाई बराबरीमै रोकेको भए पनि इटालीको ३७ खेलको अपराजित विश्व कीर्तिमानी यात्राको बराबरी गर्ने थियो। तर, सन् १९३० को विश्वकपपछि सुरुवाती अग्रता लिएर पनि खेललाई गुमाउने लामो इतिहासलाई फेरि दोहर्याउन पुग्यो।
‘हामीलाई थाहा थियो साउदी अरेबिया राम्रा खेलाडीले भरिएको टोली हो, जसले राम्रो मुभ गर्नसक्ने र डिफेन्सिभ लाइनमा प्रभाव छोड्नसक्ने क्षमता राख्छ’, उनले भने, ‘हामीले यसमा काम पनि गर्यौ, तर यसैकारण हाम्रो (साउदी अरेबियाको राम्रो डिफेन्स रणनीति) थुप्रै गोल अवैध भए। सायद हामीले उनीहरूको ट्रयाप (जाल)बाट बाहिरिने उपयुक्त मौका खोज्न सकेनौं।’
मेसीले साउदीविरूद्धको खेल पहिलो भएको भन्दै प्रतिक्रिया दिए, ‘यो हामीमा निर्भर पर्छ, जे हामीले गल्ती गर्र्यौ, त्यो सुधार्ने। हामीले आफू को हौं भन्ने कुरामा फर्किने प्रयास गर्नुपर्ने छ।’
अर्जेन्टिनाले विश्वकपअन्तर्गत शनिबार मेक्सिको र नोभेम्बर ३० मा पोल्याण्डविरूद्ध प्रतिस्पर्धा गर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।