काठमाडौं– युवा मिडफिल्डर कोडी माथेस गाक्पो र डेभी क्लासनले अन्तिम समयमा गरेका गोलको सहयोगले द नेदरल्याण्ड्सले कतारमा जारी विश्वकप फुटबलअन्तर्गत सोमबार भएको समूह चरणको पहिलो खेलमा सेनेगललाई २–० गोलले पराजित गरेको छ।
आफ्ना स्टार खेलाडी साडियो माने विना नै मैदानमा उत्रिएको सेनेगलले समूह ‘ए’ चरणको पहिलो खेलमा बलियो डच टोलीलाई चुनौती दिएको थियो। उसले पहिलो हाफको खेललाई गोलरहित बराबरीमा रोकेको थियो।
तर, दोस्रो हाफमा पीएसभी आइन्डहोभनका विङ्गर गाम्पोले ८४ मिनेटमा गोल गर्दै डच टोलीलाई विजय दिलाए। उनलाई गोलका लागि फ्रेन्की डी जोङले मौका उपलब्ध गराएका थिए।
यस्तै, निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको नवौं मिनेट (९७ मिनेट) मा गोल गर्दै क्लासनले अग्रतालाई दोहोरो बनाएका थिए। क्लासन ७९ मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।