काठमाडौं– २२औं संस्करणको कतार विश्वकपको दोस्रो दिनको पहिलो खेलमा युरोपियन टिम इंग्ल्याण्ड र एसियाली टिम इरानबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार यी दुई देशबीचको खेल बेलुका ६:४५ मा दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ।
फिफा वरियतामा इंग्ल्याण्ड पाँचौं स्थानमा छ भने इरान २० औं स्थानमा छ। फुटबल इतिहासमा यी दुई राष्ट्रबीचको यो खेल पहिलो हो। पहिलो पटक एकअर्कामा आमने सामने हुन लागेका यी दुई देश एक अर्काका लागि नौला प्रतिस्पर्धी हुन्।
विश्वकपमा आफूलाई सधैं दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको इंग्ल्याण्ड स्टार खेलाडीहरुले भरिएको छ।
प्लेयर्स टु वाच
जुड विक्टर विलियम बेलिंगहम (इंग्ल्याण्ड)
थ्री लायन्ससँग ह्यारी केन, फिल फोडेन, रहिम स्टर्लिङ, डेक्लान राइसजस्ता स्टार खेलाडीहरु छन्। तर यसपटक यी स्टारहरुभन्दा खेलप्रेमीहरुको ध्यान युवा खेलाडी जुड बेलिंगहमले तानेका छन्। क्लब फुटबलमा चमत्कार गरिरहेका १९ वर्षीय बेलिंगहम नतिजा नै उलटफेर गर्नसक्ने क्षमता राख्छन्।
म्यानचेस्टर सिटीका मिडफिल्डर केल्भिन फिलिप्ससँग बेलिंगहमलाई मैदानमा उतारेको अवस्थामा यी दुईको जोडी जम्ने देखिन्छ। मिडफिल्डमा बल पकड राख्दै अगाडि बढाउन माहिर बेलिंघम खेलको केन्द्रमा रहने खेलाडी हुन्। खेल नियन्त्रण, तिव्र गति, हाई पासिङ स्किल्सका कारण बेलिंघम चर्चित छन्।
जर्मन क्लब बोरुसिया डर्टमण्डमा आबद्ध बेलिंगहम उदयीमान युवा खेलाडी हुन्। उनलाई भित्र्याउन विभिन्न क्लबहरुले आँखा लगाउँदै आएका छन्। बेलिंमहमको मार्केट भ्यालू १०० मिलियन यूरो छ।
मेहदी तरेमी (इरान)
इरानको मुख्य हतियार हुन् तरेमी। इरानी टिमले तरेमीबाट यो पटक धेरै आशा गरेको छ। उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तरेमी कतार पुगेका छन्। क्लबका ठूला खेलहरुमा जब संकट आइपर्छ त्यतिबेला टिमलाई आवश्यक पर्ने सबै चिज दिन उनी माहिर मानिन्छन्।
इरानका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमासमेत महत्वपूर्ण गोल गर्दै उनले आफूलाई अब्बल सावित गरिसकेका छन्। पूर्ण फिट नभएकाले सरदार अजमोनले आजको खेल गुमाउन सक्ने बताइएको छ।
उनको अभाव खड्किन नदिन इरानी टिमले पोर्चुगिज क्लब पोर्तेका स्ट्राइकर तरेमीमाथि धेरै आशा गरेको छ। तरेमी एक ‘सेनसेसनेल’ अट्याकर हुन्। इंग्ल्याण्डविरुद्धको डिफेन्स लाइनमा ३० वर्षीय परिपक्क तरेमीले आज तरंग ल्याउन सक्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।