काठमाडौं- आइतबार प्रतिनिधि सभाका २७५ र प्रदेश सभाका ५५० सिटका लागि निर्वाचन हुँदैछ। देशभर एकैसाथ निर्वाचन हुन लागेको हो। त्यसका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तय गरिएका छन्। त्यस्तै, १४१ वटा अस्थायी मतदान स्थल तय गरिएका छन्।
यो निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता सूचीकृत छन्। उनीहरुका लागि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ।
भोट खसाल्न मतदान केन्द्र जाँदा मतदाता परिचयपत्र साथमा बोक्नुपर्छ। मतदाता परिचयपत्र नभएको अवस्थामा भने नागरिकताको प्रमाणपत्र, लालपुर्जा (जग्गाधनी पुर्जा), राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), पासपोर्ट(राहदानी) बोक्न सकिन्छ।
मतदाता परिचयपत्र नभएको अवस्थामा मतदाता नामावलीमा नाम भएका मतदाताले नागरिकताको प्रमाणपत्र, लालपुर्जा (जग्गाधनी पुर्जा), राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), पासपोर्ट(राहदानी) देखाएर मतदान गर्नसक्ने निर्वाचन आयोगले जानकारी दिएको छ।
मतदाता परिचयपत्र वा अन्य (उल्लेखित) कागजातको सक्कलै प्रति बोक्नुपर्नेछ। परिचयपत्र वा अन्य कागजातको प्रतिलिपि (फोटोकपी) देखाएर मतदान गर्न पाइने छैन। मतदाताले मतदान केन्द्रमा मोबाइल, क्यामेरा लगायत विद्युतीय उपकरण लैजान पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।