काठमाडौं– चुनावी सुरक्षा पूर्णरूपमा मजबुद बनाइएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मलेनको आयोजना गरेर गृह सचिव विनोद सिंहले निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त रहेको जानकारी दिए।
निर्वाचन बहिस्कार गर्नेहरूको गतिविधिदेखि जातीय, क्षेत्रीय, साम्प्रदायिक संघ–संगठनहरुको गतिविधि र अन्य घटनाहरू र भौगोलिक अवस्था समेतका विश्लेषण गरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गिकरण गरेर सुरक्षा योजना लागू गरिएको बताए।
मतपेटिका मतदान केन्द्रसम्मको ढुवानी तथा मतदान सकिएपछि मतपेटिका संकलन कसरी गर्ने भन्नेसम्मका योजना तयार पारिएको सिंहले बताए। दुर्गमका मतपेटिका ल्याउन हेलिकप्टरसमेत व्यवस्था गरिएको उनको भनाइ छ।
निर्वाचनलाई लक्षित गरेर हतियारको दुरुपयोग हुनसक्ने भन्दै इजाजतपत्र १ हजार ८ सय ५४ हतियार र अवैध १७१ हतियार गरी २ हजार २५ थान हतियार संकलन गरिएको छ।
शुक्रबारदेखि सुरक्षा अनुमगन घुम्ती टोली खटिने र मौन अवधिमा आचारसंहिता पालना भए–नभएको अनुगमनसमेत गरिने उनले बताए।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाबाट फ्ल्याग मार्च पेट्रोलिङ भइरहेको पनि उनले जानकारी गराए।
नेपाली सेनाका हेलिकोप्टरहरू इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ। कुनै घटना भइहालेमा बढीमा ३० मिनेटमा पुग्नेगरी सेनालाई परिचालन गरिएको जनाइएको छ। सेनाले हवाई गस्तीसमेत गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।