ली चुन (फाइल तस्बिर)
काठमाडौं– शुक्रबार काठमाडौं उत्रिएका चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन आफ्नो ५ दिने भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका छन्। गत महिना सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाअधिवेशनपछि चिनियाँ पक्षको यो उच्चस्तरीय भ्रमण हो।
नेपालको निर्वाचनको मुखैमा आएको चुन नेतृत्वको भ्रमण टोलीले औपचारिकरुपमा उच्चस्तरिय भेटवार्ता भने गरेन। चुनको भ्रमणलाई नेपाल सरकारले सहमति प्रदान नगरेका कारण उनी अनौपचारिक गतिविधिमा सहभागी भएर स्वदेश फर्किएका हुन्।
नेपाल सरकारको तर्फबाट उक्त भ्रमण स्थगित गर्न अनुरोध गरिएको थियो। चिनियाँ पक्षले भ्रमणलाई अनौपचारिक र संस्कृतिक बनाउने भने पछि भ्रमण स्वीकृत गरिएको परराष्ट्र स्रोतले बताएको छ। चुन उपत्यकाका सांस्कृतिक सम्पदाहरुको अवलोकन गरेर स्वदेश र्फकिएका छन्। उनले वसन्तपुरस्थित नौ तले दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र संग्रहालय र स्वयम्भू लगायतका सम्पदाको अवलोकन गरेका थिए।
निर्वाचनको पूर्वसन्ध्यामा भएको चिनियाँ पक्षको यो भ्रमण अर्थपूर्णरुप रहेको परराष्ट्र मामिलाका जानकारहरुको बुझाइ छ। भारत, अमेरिका र युरोपियन युनियन लगायतका देशहरुकै चासोका बीचमा चिनियाँ चासो पछिल्लो समय बढेको चुनको भ्रमणले देखाएको उनीहरुको तर्क छ। परराष्ट्र मामीलाको विषयमा अनुसन्धान गर्ने एक अनुसन्धनदाता नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छी आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएपछि आएको चुन नेतृत्वको भ्रमण टोली सन्देशसहित आएको बताउँछन्। उनीसँगै आएको एक समूहलाई नेपालमै केही समय बस्ने गरी राखिएको स्रोतके दाबी छ। उक्त टोली निर्वाचन परिणामपछि सरकार बन्ने प्रक्रिया सुरु भएपछि फर्किने छ। उक्त समूहले अनौपचारिक रुपमा राजनीतिक भेटघाट गरिरहेको ती अनुसन्धानदाताको दाबी छ।
नेपालको राजनीतिक मामिलामा भारत खुला रुपमै संलग्न हुने गरेको चर्चाका बीच चीनले पनि पछिल्लो समय नेपाल केन्द्रित आफ्ना गतिविधिलाई बढावा दिइरहेको छ। पछिल्लोपटक २०७४ सालको निर्वाचनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणमा चिनियाँ सक्रियता खुला रुपमा प्रकट भएको थियो। तत्कालीन नेकपाको आन्तरिक विवाद समाधानमा पनि चिनयाँ पक्ष खुलेरै सक्रिय भएको थियो, तर नेकपा एकता भने जोगिएन।
भूराजनीतिका जानकार चन्द्रदेव भट्ट पनि निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ पक्षको मन्त्रीस्तरीय भ्रमण हुनु आफैंमा अर्थ राख्ने बताउँछन्। नेपाल लाइभसँगको कुराकानीमा भट्टले भने, ‘चिनियाँ पक्षले पछिल्लो समयमा नेपालमा लगानी र चासो बढाएको छ। मेरो विचारमा चीनमा सी चिन फिङ पुन: सत्तामा दोहोरिने तय भएपछि चीन नेपालमा हुन गइरहेको निर्वाचन र त्यसपछि बन्ने सरकारको बारेमा सुक्ष्म अध्ययन गरिरहेको हुन सक्छ।’
चीनले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा आफनो सहयोगमा सञ्चालित परियोजनाहरुको अवलोकन गर्न यो भ्रमण भएको बताएका छ। तर योस्तरको भ्रमण, निर्वाचनको पूर्वसन्ध्यामा त्यतिमा मात्र केन्द्रित होला जस्तो नलाग्ने भट्टले दाबी गरे। नेपालमा यो टोलीले को–कोसंग भेट्यो वा कहाँ–कहाँ गयो भन्ने भन्दा पनि अहिले उनीहरुले भ्रमण गर्नु नै एउटा सन्देश रहेको भट्टको भनाइ छ।
सरकार तथा वर्तमान सतागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र त्यसमा पनि परराष्ट्र मन्त्रीले नै यो भ्रमण रोक्न चाहेको विषयले निर्वाचनको मुखमा भूराजनीतिक महत्त्व राख्ने भ्रमण नहोस् भन्ने सरकारी चाहना देखिएको भट्टले बताए।
‘नेपाली कांग्रेस र उसैको नेतृत्वमा रहेको सरकारले निर्वाचनको बेला भूराजनीतीक महत्त्व राख्ने भ्रमण नहोस् भन्ने चाहेको देखिएको बेला चिनियाँ टोली नेपाल आएर फर्केको छ,’ भट्टले भने, ‘यसले चीनको भूराजनीतिक महत्त्वमा नेपाल महत्वपूर्ण छ भन्ने पनि सन्देश प्रवाह गरेको छ।’
परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई चीन र भारतको मात्र नभएर अमेरिकाको पनि यो निर्वाचनमा उत्तिकै चासो रहेको बताउन्छन्।
‘चीन र भारतको मात्र होइन, अमेरिका लागयत अन्य मुलुकको पनि चासो छ,’ नेपाल लाइभसँग कुरा गर्दै भट्टराईले भने, ‘अरुको तुलनामा भारत र चीन सँगसँगै जस्तो देखिएका छन्।’
भट्टराई अघिल्ला निर्वाचनमा जस्तो मुखररुपमा कसैको दौडधुप भने नदेखिएको बताउँछन्। निर्वाचन पछिको सत्ता समिकरण स्पष्ट नभएकोले पनि यस्तो भएको उनी बताउँछन्।
त्यस्तै, परराष्ट्र मामिलाका ज्ञाता डा निश्चलनाथ पाण्डे निर्वाचनका बेला अन्य राष्ट्रका प्रतिनिधिहरुको नेपालमा दौडधुप हुने बताउँछन्। ‘चुनावको बेलामा सबै राष्ट्रहरुको नोपलमा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावपछि एउटै दलको एकमना (सरकार) बन्ने सम्भावना छैन,’ पाण्डेले भने, ‘यसैले देखिने गरी वा नदेखिने गरी विदेशीको दौडधुप बढेको हुन्छ।’
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन अघि शृखंलाबद्ध रुपमा चीनको उच्चस्तरीय भ्रमण भएको थियो। भदौमा चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सु नेपालका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल आएका थिए।
त्यसअघि असारको अन्तिमतिर चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला विभागका प्रमुख लिउ जियान चाओ नेपाल आएका थिए। विदेश विभागको नेतृत्वमा आउनेवित्तिकै लिउले पहिलो भ्रमण नेपाल गर्दा उच्च महत्त्वका साथ हेरिएको थियो। राष्ट्रपति सीले तेस्रो कार्यकालका लगि नेतृत्व लिएपछि भने चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।