काठमाडौं– सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ।
गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी गराएको हो।
गृहसचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे।
उनले देशका सबै ठाउँका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भई मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरू सक्षम रहेको बताए ।
गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरू निर्वाचन केन्द्रमा पुगिसकेको बताए । उनले मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गिकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि जानकारी दिए।
‘प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्थालाई सुनिश्चितता गरिएको छ । हामीले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरू सम्पन्न गरिसकेका छौँ,’ उनले भने, ‘त्यसबाट प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरूसँग, समितिहरुसँग छलफल भएको छ । त्यहाँ सबै ठाउँको प्रतिवेदनको आधारमा हेर्दा सुरक्षा व्यवस्था चुस्त छ । निर्धक्क भएर मतदान गर्नसक्ने किसिमको वातावरण बनाउन सुरक्षा निकायहरू र जिल्लामा रहेका सुरक्षा निकायहरु सक्षम रहेको देखिन्छ।’
यो अवधिमा विशेष गरी निर्वाचनको सन्दर्भमा उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा यी सबै कुराको सुरक्षालाई हामीले हेरिरहेको उनले बताए।
सबै क्षेत्रबाट सुरक्षाको प्रत्याभूति गर्न सकिने स्थिति रहेको र निर्धक्क भएर मतदान गर्नसक्ने वातावरण तयार भएको देखिएको उनले बताए।
‘हामीसँग १० हजार ८ सय ९२ वटा मतदान स्थल रहेका छन् । त्यसमा २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरू रहेका छन्। हामीले हरेक मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेका छौँ,’ उनले भने, ‘तदनुरुप नै सुरक्षाकर्मीहरू सम्पूर्ण मतदान स्थलहरुमा र मतदान केन्द्रहरुमा सुरक्षाका लागि खटिसकेका छन्। निर्वाचनको दिन र निर्वाचन भन्दा अघिको मौन अवधिमा पनि सम्पूर्ण रुपमा सुरक्षा प्रवन्धहरु गरेका छौँ।’
त्यसले आसन्न निर्वाचनमा भयरहित र शातिपूर्ण निर्वाचन गराउन सक्षम हुने उनले बताए।
भयरहीत वातावरणमा मतदाताले मतदान गर्न पाउने कुरा सुनिश्चित गरिएकाले निर्धक्क मताधिकारको प्रयोग गर्न उनले आग्रह गरे।
देशभर कुल १० हजार ८ सय ९२ वटा मतदान स्थलहरु र २२ हजार २ सय २७ वटा मतदान केन्द्र छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।