काठमाडौं– ललितपुरको कुपोन्डोलस्थित बागमती नदी छेउमा हल्का धुलो उडिरहेको ठाउँमा आजभोलि दिनहुँजसो भीड लाग्ने गरेको छ। नझुकिन्नुहोला, यो भीड कुनै मेला वा प्रर्दशनीको होइन। यो त भर्खरै बनिरहेको नेपालकै नमुना पम्प ट्रयाकको हो।
पम्प ट्रयाक भनेको के हो त? सबैको मनमा जिज्ञासा आउला! पम्प ट्रयाक भनेको साइकलिङ्ग गर्नको लागि प्रयोग गरिने कालोपोत्रे ट्रयाक हो। जसलाई उकालो–ओरालो हुनेगरी गोलो गोलो बनाइएको हुन्छ। साइकल चलाउँदा उकालो वा ओरालोमा पम्प विधिबाट चलाइने शैलीले यसको नाम पम्प ट्रयाक भनिएको रहेछ।
स्विस कम्पनी भेलोसोलुसन, हिमाली राइडर्स र ललितपुर महानगरपालिकाको वडा नम्बर १ को सहयोगमा यो पम्प ट्रयाक बनाइएको छ। भेलोसोलुसन योभन्दा अगाडि पनि विभिन्न विकसित देशमा यस्तै ट्रयाक बनाउँदै आएको एक प्रख्यात कम्पनी हो ।
हिमाली राइड्रस क्लबले बनाउने अठोट गरेपछि भेलोसोलुसनलाई डिजाइन प्रस्ताव आएको हो। त्यसपछि कम्पनीको डिजाइनको सहयोगमा हिमाली राइडर्स कल्ब सँगसँगै ललितपुर महानगर– १ को २ रोपनी जग्गा सहयोगमा ट्रयाक बनाउन लागिएको हो।
अहिले यो ट्रयाकको निर्माण ९० प्रतिशत सकिसकेको र औपचारिक रुपमा उद्घाटन हुन भने बाँकी रहेको सरोकारवालाहरूको भनाइ छ। यद्यपि, ट्रयाक भने साइकल कुदाउनका लागि खुला गरिसकिएको छ।
हिमाली राइडर्सका बोर्ड सदस्य राज ज्ञवाली पम्प ट्रयाक बच्चादेखि वृद्धवृद्धा सबैजना सिक्न र खेल्न मिल्ने बताउछन्। ‘यो पम्प ट्रयाक नेपालकै नमुना पम्प ट्रयाक हो, अन्तर्रास्ट्रिय मापदण्डमा बनेको छ, अब यहाँ विभिन्न राष्ट्रिय स्तरका खेलसँगै अन्तर्राष्ट्रिय साइकलका खेलहरू गराउन सकिन्छ’, उनी भन्छन्।
साइकल खेललाई स्वास्थ्य जीवनसँग जोड्ने गरिन्छ। मानिसले जति साइकल चलाउँछ त्यति नै उ स्वस्थ हुने चिकित्सकहरू बताउँछन्। यो पम्प ट्रयाकले बाहिर हुने दुर्घटनालाई घटाउन पनि सहयोग पुर्याउने सरोकारवालाहरू दाबी गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।