काठमाडौं– नेपाल र पाकिस्तानबीच बुधबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।
पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ। पाकिस्तान विश्व फुटबल महासंघ (फिफा)को निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो।
पाकिस्तानविरुद्धको खेल खेल्नुअघि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको खेलमा जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए।

मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुद राम्रो टिम बनाएको बताउँदै राष्ट्रिय टोलीका केही खेलाडी विदेश पलायन भए पनि नेपालमा नै रहेका खेलाडीबाट बलियो टिम बनाएको बताए। कटुवालका लागि यो पहिलो खेल हो।
नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ ।
हालसम्म पाकिस्तानले सात खेल जितेको र नेपालले पाँच खेल जितेको छ। नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो।
यसैगरी राष्ट्रिय टोलीका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्द्वी भए तापनि आफ्नो टोलीले जित निकाल्ने विश्वास व्यक्त गरे।
पाकिस्तानका कप्तान हसन बसिरले नेपालसँगको खेलका लागि सकारात्मक रहेको भन्दै आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।