काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा संस्कारसहितको गुणस्तरीय शिक्षाको नीति नै बनाउन आवश्यक भएकाले नीति निर्माण दतहमा लड्न आफूले उम्मेदवारी दिएको बताएकी छिन्।
उनले शंखरापुर नगरपालिकाका मतदातासँग आइतबार भएको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन्।
पोख्रेलले शिक्षामा व्यापक व्यापारीकरण बढेको भन्दै सामुदायिक विद्यालयलाई संस्कारसहित गुणस्तीय बनाउनुपर्नेमा जोड दिएकी छिन्। अहिले मुलुकमा दुई किसिमका शिक्षालय भएकाले शिक्षामा व्यापारीकरण बढेको भन्दै त्यसको फाइदा निजीले महंगो शुल्क असुलेर लिने गरेको बताइन्।
उनले राज्यले शिक्षाको लागि जति बजेट खर्चिने गरेको त्यो सही ठाउँमा उपयोग नभएको भन्दै व्यवसायिक र सीपयुक्त शिक्षाको लागि तालीम प्राप्त शिक्षक, विद्यार्थीमैत्री वातावरण र समयानुकूल प्रविधिको आवश्यकता रहेको औल्याइन्।
पोख्रेलले अहिले पनि बिजुली, खानेपानी र टेलिफोनको भुक्तानी बुझाउन लाइन बस्ने चालन कायमै रहेको भन्दै यस्ता कामहरू प्रविधिको माध्यमबाट घरमै बसेर गर्न सकिने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।