काठमाडौं– नेपाली चलचित्र कबड्डी–४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ। बिहीबार सिनेमा घर एपका सञ्चालकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चलक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए।
उनले एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइरहेको बताए। लामिछानेले सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरु राखिसकेको र चलचित्रहरुले युट्युबमा कमाउनेभन्दा राम्रो पैसा कमाएको बताए।
नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको उनको भनाइ थियो।
‘एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी विकास भइरहेको छ। त्यो क्रम दिनदिनै बढीरहेको छ। हालै हामीले जय भोले र रातो टिका निधारमा रिलिज गरेका थियौं,’ उनले भने, ‘त्यसले राम्रो नै पर्फमेन्स गर्यो। युट्युबबाटभन्दा धेरै पैसा जम्मा गर्यो। लामो समयसम्म एप्लिकेशनमा फिल्म राख्दा पहिला भएको फिल्महरुको एडसेनहरु आउँछ। अहिले हामी कबड्डी रिलिज गर्दैछौं।’
थोरै भए पनि पैसा तिरेर हेर्दा त्यसले नेपाली सिनेमाको श्रीवृद्धिमा नै राम्रो भूमिका खेल्ने उनले बताए। त्यसैले पनि नेपाली फिल्महरुको प्रोत्साहन गर्नुपर्ने र पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।