काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका अन्य विभिन्न चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवारहरुप्रति कटाक्ष गरेका छन्। बुधबार झापामा आयोजित चुनावी कार्यक्रममा उनले हल्लाका पछि नलाग्न कार्यकर्तालाई सुझाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोड्दै उनले भने- ‘कुन एउटा युवालाई पत्रकारिता गर्दागर्दै राजनीति गर्न मन लाग्छ। ठिकै छ। राजनीति गर्छन् नि त। उम्मेदवार भएका छन्। ठिकै छ। त्यस्ता मान्छेहरु यहाँ पनि आएका हुनसक्छन्। मैले त धेरै बुझेको पनि छैन।’
उनले स्वतन्त्र उम्मेदवारहरुले केही गर्न नसक्ने बताए। ‘स्वतन्त्र हुँ भन्ने आएका होलान्। कोही घण्टी बजाउँदै आएका होलान्। कोही लौरो टेक्दै आएका होलान्। कोही के गर्दै आएका होलान्। कोही चापाकल, कोही के लिएर आएका होलान्। त्यस्तो स्वतन्त्रले गर्छ के? त्यसले केही पनि गर्दैन,’ उनले भने।
ओलीले देश बनाउन त सुदृढ पार्टी र विचार चाहिने बताए। उनले त्यतिकै लहडमा उम्मेदवार भनेको भन्दै उम्मेदवार हुन पाइने भए पनि ‘तिनले गर्ने के हुन् त?’ भन्ने प्रश्न गरे। ‘यो केटाकेटीको खेल त होइन नि। त्यसकारण यस्तोमा मजबुत पार्टी, हामी यो खपटा जोडेर, फुटेको हाँडीका खपटा जोडेर हुँदैन, एउटा राष्ट्रिय पार्टी चाहिन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।