वीरगज- वीरगञ्जको गहवा माई मन्दिर नजिकै पार्क जस्तो एउटा संरचना छ। त्यसको एउटा टेबलमा खुल्ला चिया पसल छ। यहाँ बिहान र बेलुकी सधैं स्थानीयहरुको जमघट हुनेगर्छ। आजकाल यी जमघटमा हुने चर्चाको मुख्य विषय हो- मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन।
पर्सा जिल्लाका प्रतिनिधि सभाका चार वटा र प्रदेश सभाका आठ वटा निर्वाचन क्षेत्र छन्। मधेस प्रदेशभर ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्। यी लगायत समग्र देशकै सम्भावित नतिजाको आकलन गर्नु यहाँको दैनिकी बनेको छ ।
शनिबार साँझ त्यहाँ पुग्दा पनि भीडभाड उस्तै थियो। भीड चिया पसल अगाडिको सुहाग श्री सुनचाँदी पसलसम्मै लम्बिएको थियो। एक ज्येष्ठ नागरिकले कुनै प्रश्न बिना नै उत्तर सुनाए- ‘जाहाँ दारु और मान्समे भोट बिकेला, उहाँ अपनी का के निर्वाचन के वात करी?’ उमेरले ७० नाघिसकेका नरेन्द्र तिवारीको यो भोजपुरी वाक्यको आशय थियो- निर्वाचनको बेलामा मदिरा र मासुमा यहाँ भोट खरिद बिक्री हुने गर्छ। त्यसैले यहाँ निर्वाचन, निर्वाचन जस्तो रहेन।
पन्चायत विरुद्धको आन्देलनमा सक्रिय तिवारीले लामो समय सरकारी सेवामा काम गरे। साथै, नेपाली कांग्रेसमा सक्रिय भए। तर पछि उनी राजनीतिबाट निस्क्रिय हुँदै गए। बिहान बेलुकी यही चिया पसलमा आएर राजनीतिक गफ गरेपछि उनीभित्रको राजनीतिक प्यास मेटिने गर्छ।
कुराकानीमा तिवारीले राजनीतिमा भ्रष्टाचार र विसंगति मौलाएका कारण जनतामा निर्वाचनप्रति कुनै उत्साह नदेखिएको तर्क गरे। ‘तपाईं आम नागरिकको मात्रै होइन, पार्टीकै स्थानीय नेता कार्यकर्ताको घर पुग्नुस्। तर निर्वाचनलाई लिएर कोही पनि सकारात्मक कुरा गर्दैनन्’, उनी भन्छन्, ‘राजनीति आम मान्छेको पहुँचभन्दा बाहिरको विषय बन्न पुगेको छ। यो चिन्ताजनक विषय हो।’
उनले मूलधारदेखि मधेस केन्द्रित दलका नेताहरु गठबन्धन बिना निर्वाचनमा जान नसक्ने हुन उनीहरुकै अकर्मण्यता भएको बताउँछन्। ‘जनताप्रति विश्वास भएको भए उनीहरु आफूले गरेको काम र भविष्यमा गर्ने कामको योजनासहित जनतामा जान सक्नुपर्थ्यो', उनी भन्छन्, ‘साँच्चिकै भन्ने हो भने जनतासँग विकल्प नै नभएको अवस्था छ।’
यही चिया पसलमै भेटिएका अर्का स्थानीय सतिश दुवे पनि उम्मेदवारहरुले निर्वाचनको बेला बोल्ने कुरामा आम नागरिकलाई कुनै विश्वास नरहेको बताए। ‘नागरिकहरु उम्मेदवारको सामुन्ने प्रतिकारमा उत्रिँदैनन्', उनी भन्छन, 'तर उम्मेदवारहरु पर जाने बित्तिकै भन्छन्- चुनावको बेला भएकाले नेताहरु चिल्लाचिल्ला कुरा गर्न घर आएका हुन्।’
अर्का स्थानीय अनिरुद्ध सिंह पनि नेताहरुको कारण राजनीतिप्रति समाजको दृष्टिकोण नै परिर्वतन भएको जिकिर गरे। विगतमा मधेसी पार्टीमा लागेको उनी पाँच वर्षयता भने राजनीतिक रुपमा स्वतन्त्र भएर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। उनले प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रसहित मधेसी पार्टीहरुका नेतामा कुनै फरक नरहेको जिकिर गरे। सबैले आफ्नो राजनीतिक गर्न जनतासामु नाटक गर्ने गरेको उनको भनाइ छ।
‘बचके रहिए, यी चोरवा सबसे, ना त फिर फसजाई'
२०७२ मा नयाँ संविधान जारी हुने समयको आसपास मधेसमा आन्दोलन उठ्यो। वीरगञ्ज र जनकपुरसहित मधेसमा ६ महिना लामो बन्दी चलेको थियो। त्यही क्रममा वीरगञ्जका धुरेन्द्र सहनीले गाएको गीत ‘नेपाल अभि बन्द्य वा’ समग्र मधेससहित काठमाडौंसमेत चर्चामा आयो। मधेसी नेताहरुले त्यस गीतलाई आन्दोलनस्थलदेखि कार्यक्रमस्थलसम्म बजाउने गर्थे।
शनिबार गहवामाई मन्दिर परिसरको सोही चिया पसलमा भेटिएका सहनीले आफूले गीत गाएको समय र मधेस आन्दोलन सम्झिँदा मन खिन्न हुने गरेको गुनासो गरे। उक्त गीत गाएपछि सहनीलाई लिएर तत्कालीन मधेसी मोर्चाका नेता राजेन्द्र महतोले पूर्वदेखि पश्चिमसम्मको मधेस घुमेका थिए।
तर मधेस प्रदेशदेखि संघीय सरकारसम्ममा मधेसी नेताहरु पुग्दा एक पटक पनि नसम्झेको उनले गुनासो गरे। उनले आफैं गएर एकपटक मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई भेटेको र मधेस सरकारले सुरु गरेको 'बेटी पढाऊ, बेटी बचाऊ' अभियानका लागि आफूलाई पर्सा जिल्लामा प्रचारप्रसार गर्ने जिम्मा दिन आग्रह गरेको बताए। तर, राउतले पछि बोलाउने आश्वासन दिए पनि नभेटेको उनको भनाइ छ।
सहनीले राउतसहित मधेस प्रदेशदेखि केन्द्रसम्म पुगेका मधेसी नेताहरुले आन्दोलनमा लागेका स्थानीय नेता कार्यकर्ताभन्दा कमिसन दिनेलाई काखी च्याप्ने गरेको आरोप लगाउछन्। र, अहिले नयाँ गीतको रचना गरेर भन्छन्- ‘बचके रहिए, यी चोरवा सबसे, ना त फिर फसजाई (यी चोर नेताहरुसँग बचेर रहनुहोला, नत्र फेरि फस्नुहुन्छ)।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।