काठमाडौं- पाँगा, नगाउँ र रारा हिल्सदेखि दक्षिण र टौदहदेखि उत्तरतिर पर्छ कीर्तिपुरको छापगाउँ। यो गाउँ पस्दा शहरले किनाराकृत गरेझैं अनुभव हुन्छ। खाल्डाखुल्डी, धुलो र हिलो छिचोल्दै हामी छापगाउँ पुग्दा घडीले बिहान ८ बजेको जनाउ दिएको थियो।
माओवादीकी उम्मेदवार अन्जना विशंखेलाई पछ्याउँदै छाप त पुगियो तर धेरैजसो मानिस घरमा थिएनन्। जनताका घरमा उम्मेदवार पुग्नेवित्तिकै कुकुर भुकेको कर्कश आवाज आइरहेको थियो। अन्जना भने भेटिएका मतदातालाई आफूतिर तान्ने कोसिस गरिरहेकी थिइन्।
धारामा लुगा धुँदै गरेकी महिलालाई भोट दिन अपिल गर्दै पर्चा दिन खोजिन् अन्जनाले। ती महिलाले भने पर्चाले घर नै फोहोर भइसकेको भन्दै लिन इन्कार गरिन्। ‘जो आउँछन्, पर्चामात्रै दिन्छन्। यहाँका समस्या पनि हेर्न आउनु नि?,’ उनले प्रश्न गरिन्।
टोलमा भेटिएका मतदातालाई नमस्कार गर्दै अन्जना गोलाकार भित्रको हँसिया हथौडामा छाप लगाउन अनुरोध गरिरहेकी थिइन्। उनले मतदाता समक्ष आफू महिला, युवा र प्रत्यक्षमा पहिलो पटक उम्मेदवार बनेकोले सहयोग गर्न अपिल गरिन्।
अन्जनाको अनुरोधपछि स्थानीय बाबुकाजी महर्जनले राष्ट्रपति महिला भएको देशमा निर्मला पन्तहरुले न्याय पाउँदैन भने महिला भनेर मात्र हुन्छ? भन्ने प्रश्न गरेका थिए। त्यसपछि अन्जनाले भनिन्, ‘कति पुरुषलाई मात्र भोट हाल्नुहुन्छ? यो पटक महिलालाई पनि भोट हालेर परीक्षण गर्नुहोस् न।’
चुनाव आउँदा आश्वासन दिने र संसद् छिरेपछि पाँच वर्षको जागिर पकाउने काम बाहेक सांसदले कुनै परिणामुखी काम नगरेको गुनासो बाबुकाजीले गरे। उनले भने, ‘पञ्चायत, बहुदल र गणतन्त्र देख्यौँ। अब यो देशमा सैनिक शासन मात्र देख्न बाँकी छ।’ उनको अनुभवमा व्यवस्था परिवर्तन गरेर मात्र अवस्था परिवर्तन नहुने नेपालको राजनीतिक दृश्यले प्रष्ट पारेका छन्।
काठमाडौंको कर्णाली छाप गाउँ
कीर्तिपुर नगरपालिका- ६ मा पर्ने छापगाउँ तरकारीका टनेलले भरिएको छ। बिहान थापा टोलको बाल विकास दिवा सेवा समितिको अगाडि गाउँलेहरु बिहान घाम ताप्दै बसिरहेका छन्। सडक र यातायातका हिसाबले छापगाउँलाई कीर्तिपुरको कर्णाली भन्दारहेछन् यहाँका स्थानीय।
पुरुषको समूहले पिपल बोटको चौतारोमा बसेर चुनावी चर्चा गरेको सुनेपछि हामी पनि त्यतै गफिन पुग्यौं। हिमाल महर्जन यहीँ खेतीपातीको काम गर्छन्। भोट हाल्न जाने बाहेक कुनै चुनावी कार्यक्रममा सहभागी नहुने उनले बताए। नेताहरु चुनावमा भोटका लागि जनताका बीचमा पुग्ने छाप उनको मनमा परेको छ। हिमाल भन्छन्, ‘अहिलेको ठूलो समस्या भनेको बेरोजगारी हो। खै त रोजगारी?’
त्यति नै बेला माओवादीकी उम्मेदवार अन्जनाले नमस्कार भन्दै मतको अपिल गरिन्, 'मलाई सहयोग गरिदिनुहोस्, जनताका सबै समस्या समाधानका लागि पहल गर्नेछु।' उनको आश्वासन भुईंमा खस्न नपाउँदै हिमालले प्रतिप्रश्न गरे, 'खेतमा मलको अभाव छ। कहाँबाट ल्याउने?'
यहाँका मतदाताले अन्जनालाई चिनेनन्। किनकी, उनी पहिलो पटक उम्मेदवार बनेकी हुन्। समानुपातिक उम्मेदवार दिलबहादुर महर्जनलाई भने उनीहरुले चिने। अन्जना २०७४ मा समानुपातिक सांसद भएकी थिइन्।
६० वर्षीय रामचन्द्र महर्जन २०४८ सालदेखि मतदान गर्दै आएका छन्। यहाँको टोल विकास समितिको अध्यक्ष समेत रहेका उनलाई पनि मतको भन्दा मलको चिन्ता छ। ‘यो क्षेत्रमा सार्वजनिक यातायातको सुविधा छैन,’ रामचन्द्रले भने, 'यहाँबाट कीर्तिपुर जान समेत आधा घण्टा हिँडेपछि मात्र गाडी पाइन्छ। संघीय राजधानीले यहाँका जनतालाई खासै छोएको छैन। यातायातको सुविधाबाट वञ्चित यहाँका मतदाता पार्टीभन्दा पनि राम्रो मान्छेलाई मत हाल्न चाहन्छन्।
समूहमा छलफल गरिरहेका युवाहरुको कुरा अनुसार यो क्षेत्र पहिला एमालेको गढ हो। पछि एमालेको गढ भत्काएर कांग्रेसलाई जिताएका रहेछन् स्थानीयले। 'यहाँका मतदाताले पार्टीभन्दा पनि राम्रो गर्ने मान्छेलाई मत दिन्छन्,' हिमालले भने।
छाप गाउँमै ७५ वर्षीया नन्दकुमार थापा परिवार पनि छापगाउँमा सडक र यातायातको असुविधा रहेको बताउँछन्। नन्दकुकमार भन्छन्, 'यहाँ न नजिक यातायातको व्यवस्था छ न कुनै एम्बुलेन्स सेवा छ। धुलाम्ये बाटो व्यवस्थापन गर्न नसक्नेहरु भोट माग्न आउनै पर्दैन।’
संघीय राजधानी भएको जिल्लालाई नै यातायातबाट वञ्चित गराइनु दु:खदायी भएको नन्दकुमारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।