काठमाडौं- गत कात्तिक ९ गते चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ मा हुने निर्वाचन आफ्ना लागि अन्तिम भएको बताए। ‘सायद अबको निर्वाचन मेरा लागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनं’, उनको भनाइ थियो।
२०२८ सालदेखि राजनीतिमा जोडिएका प्रचण्ड २०४६ को जनआन्दोलनअघि तत्कालीन नेकपा मशालको महामन्त्री भएका थिए। त्यसपछि उनी आबद्ध पार्टीको नामहरू फेरिएर नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र पुनः नेकपा (माओवादी केन्द्र) बन्यो तर उनको नेतृत्व यथावत् रह्यो। दुई पटक त प्रधानमन्त्री पनि बने। यसरी पार्टी सत्तामा एकछत्र राज गरेका र राज्य सत्तामा पनि प्रभावशाली भूमिकामा रहेका उनले बल्ल आफ्नो बहिर्गमनको संकेत गर्न थालेका छन्। यद्यपि, बेलाबखत उनैले दश वर्ष जनयुद्धको र दश वर्ष संविधान निर्माणको नेतृत्व गरिसकेकाले अब दश वर्ष विकास र समृद्धिको नेतृत्व गर्ने भन्ने गरेकाले उनको बहिर्गमनप्रति ढुक्क हुने स्थिति भने छैन।
प्रचण्ड मात्रै होइन, नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले पनि गत भदौ ५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यो निर्वाचन आफ्नो लागि अन्तिम हुने बताएका थिए। अन्य कतिपय वृद्ध नेताहरुले पनि आफ्नो लागि यो निर्वाचन नै अन्तिम भएको आशय व्यक्त गर्दै मत मागेको समाचार आउने गरेका छन्। नेपाली राजनीतिका प्रभावशाली नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल, खनाल, रामचन्द्र पौडेल, चित्रबहादुर केसी, महन्थ ठाकुर जस्ता कैयौँ वृद्ध नेताहरुको यो निर्वाचन नै अन्तिम प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। उमेर र स्वास्थ्यका कारणले त्यस्तो अपेक्षा अस्वाभाविक होइन।
'पिच बाटोमा डोजर'
उमेरले ७० हाराहारी पुगेका यी कैयौँ नेताहरुले २०४६ पछि राज्यसत्ता वा पार्टी सत्ता (वा दुवै) मा प्रभावशाली बनेका थिए र कतिपय सन्दर्भमा राजनीतिलाई कब्जा गर्न सफल भएका थिए। जस्तो, देउवा पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसके। ओली पनि दुई पटक प्रधानमन्त्री भइसके। विगत आठ वर्षयता पार्टीको अध्यक्ष छन्। नेपाल र खनालले पनि पार्टीको नेतृत्व गर्ने र प्रधानमन्त्री बन्ने अवसर पाएका थिए। नेपाल अहिले पनि एकीकृत समाजवादीका अध्यक्ष छन्। अन्य नेताहरु पनि अवसर र प्रभावको दृष्टिले उच्च स्थानमै रहे, रहिरहेका छन्।
लोकतन्त्र भनेको आफ्नो समस्या आफैं समाधान गर्ने व्यवस्था भएको तर नेताहरुले त्यस किसिमको लोकतान्त्रिक परिवेशलाई बन्धक बनाएर व्यक्तिबाट समाधान खोज्ने गरेकाले सीमित नेताको 'कब्जा' सम्भव भएको बताउँछन्, राजनीतिक विश्लेषक मुमाराम खनाल। व्यक्तिबाट होइन, संस्थागत विकासबाट समस्याको समाधान नखोज्ने हो त्यस्तै नै हुने उनको बुझाइ छ।
शंकाका पर्याप्त आधार छन्, तर घोषणा/अपेक्षा गरिएजस्तै अर्को निर्वाचनमा उल्लेखित नेताहरु प्रतिस्पर्धामा नउत्रिने निश्चित हो भने अबको पाँच वर्ष नेपाली राजनीतिमा संक्रमणकालीन समय हो भन्न सकिन्छ। साथै, उनीहरुले छाडेको मुलुकको अवस्था र अबका सम्भावनाहरुमाथि बहस हुने समय पनि हो यो ।
पहिलो पुस्ताका नेताहरुले मुलुकलाई लोकतान्त्रिक परिवेशमा ल्याएर छोडेर राम्रो गरेको खनालको भनाइ छ। त्यसबाहेक अन्य विषयमा भने मुलुकलाई आशावादी हुने ठाउँमा नपुर्यााएको उनी बताउँछन्। 'डेलिभरी र सुशासनको हिसाबले, लोकतान्त्रिक संस्थाहरुको विकासको हिसाबले, नागरिकका विश्वासका हिसाबले, कुनै पनि हिसाबले आशावादी हुने ठाउँमा छाडेनन्', उनी भन्छन्।
नेताहरुले मुलुकमा लोकतान्त्रिक व्यवस्थाको ट्र्याक खोलेको तर पुनः भत्काएको उनको भनाइ छ। उनी भन्छन्, 'ट्र्याक खोलेपछि पिच गर्ने काम पनि कुनै न कुनै रुपमा भयो। बाटो पिच भयो कार चल्नुपर्ने हो नि। तर उनीहरुले डोजर नै चलाए। र पिच भएको बाटो पनि भत्काएर धुलाम्मे बनाए।'
'नयाँ पुस्ता सक्षम छ'
कैयौँ अपूर्ण र अप्रष्ट प्रावधानका बाबजुद पनि मुलुकसँग लोकतान्त्रिक संविधान उपलब्ध छ। त्यही संविधानको मार्गदर्शनका साथ अगाडि बढ्न सकिन्छ भन्ने विश्वास गर्ने ठूलो जमात छ। र, मुलुकको केही वर्ष/दशकका लक्ष्य पनि धेरै वृत्तबाट परिभाषित पनि छ। त्यसो भए नयाँ पुस्ताले मुलुकको भार थाम्न र त्यो लक्ष्यसम्मुख पुर्या उन सक्छ त? नेपाली कांग्रेसका महामन्त्री गगन थापा, जो लामो समयदेखि पुस्तान्तरणको विषय उठाइरहेका छन्, पहिलो पुस्ताका नेताहरुको भूमिका र आफ्नो पुस्ताका नेताहरुको दायित्वलाई जोड्दै भन्छन्- हाम्रो पुस्ता सक्षम छ। तर, एउटा समयपछि हामीले पनि नयाँ पुस्तालाई जिम्मेवारी सुम्पनुपर्छ।
'अहिले हामीकहाँ रहनुभएका पहिलो पुस्ताका नेताहरुको राजनीतिक चेतना, अनुभव, योगदान, संघर्ष जस्ता विषयहरु लोकतन्त्र, जनअधिकार, सामाजिक न्यायसँग जोडिएको छ। त्यसका लागि उहाँहरु प्रशिक्षित पनि हुनुहुन्छ र ती विषयलाई स्थापित गर्ने प्रयत्न पनि गरिरहनुभएको छ। त्यसकारण मुलुक यस ठाउँमा आइपुगेको छ', नेपाल लाइभसँग कुरा गर्दै थापाले भने, 'लोकतान्त्रिक अधिकारलाई नै प्रयोग गर्दै र संरक्षण गर्दै अब नेपाललाई अति कम विकसित देशबाट तीव्र गतिमा समुन्नतिको एउटा चरणसम्म पुर्याणउने, ८/१० वर्ष भित्रमा अति कम विकसित देशबाट मध्यम आय भएको देशसम्म पुर्याउने काम हाम्रो पुस्ताले गर्न सक्छ।'
थापाले आफ्नो पुस्ता लोकतान्त्रिक आन्दोलनसँग प्रशिक्षित भएकाले त्यसलाई जोगाउन प्रतिबद्ध रहेको बताए। आम मान्छेको चासोको विषयलाई सम्बोधन गर्नेदेखि मुलुकलाई समुन्नतिको एउटा चरणसम्म पुर्याआउने कुरामा पनि आफ्नो पुस्ता प्रशिक्षित रहेको उनले बताए। नेपाल त्यहाँसम्म पुगेपछि त्यसपछिको चाहनालाई भने आफूहरुले प्रतिनिधित्व गर्न नसक्ने उनले स्वीकारे।
'पहिलो पुस्ताका नेताहरुले विश्राम लिने वा व्यवस्थापकीय भूमिका मात्रै निर्वाह गर्ने र कार्यकारिणी भूमिका हाम्रो पुस्ताको हुने हो भने आगामी ८/१० वर्ष हाम्रो पुस्ताका नेताहरुबीच प्रतिस्पर्धा हुन्छ। सहकार्य पनि हुन्छ', उनी भन्छन्, 'त्यसपछि हामीभन्दा पनि नयाँ पुस्ताका मानिसलाई हस्तान्तरण गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।