काठमाडौं- ‘पिके, पिके, पिके...।’ गएराति अल्मारिया विरुद्ध सातौं मिनेट खेल चलिरहँदा क्याप नोउ एकाएक पिकेको नामबाट गुन्जायमान भयो।
सातौं मिनेटमा बार्सिलोनाका फरवार्ड फेर्रान टोरेसले हानेको हेड बल अल्मारियाका डिफेन्डरको हातमा लागेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। जब बार्सिलोनाले पेनाल्टी पायो त्यसपछि दर्शकले पिकेको नाम लिँदै उनैलाई पेनाल्टी हान्न दिन माग गरे।
आफ्नो करिअरको अन्तिम खेल खेलेका उनै पिकेको सम्मान र सुखद बिदाइका लागि पेनाल्टी पिकेलाई हान्न दिन दर्शकको माग थियो। रोबर्टो लेवान्डोस्की पेनाल्टीमा चुके। तर अल्मारिया विरुद्ध सानदार प्रदर्शन गरेर जित निकाल्दै पिकेको सुखद बिदाइ भयो।
स्पेन तथा क्वाइटलान क्लब बार्सिलोनाका ‘भेट्रान सेन्टर ब्याक’ जेरार्ड पिकेले खेल जीवनबाट सन्यास लिए।
नेपाली समयअनुसार शनिबार राति घरेलु मैदान क्याप नोउमा अल्मारियाविरुद्ध करिअरको अन्तिम खेल गर्दै खेल पिकेले खेल जीवन टुंग्याएका हुन्। पिकेले केही दिनअघि मात्रै सामाजिक सञ्जालमा एक भिडिओ सन्देश पोस्ट गर्दै अल्मारिया विरुद्धको खेल आफ्नो करिअरको अन्तिम रहने जानकारी गराएका थिए।

खेल जीवनबाट बिदा हुन लागेका पिकेलाई मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले अल्मारिया विरुद्धको खेलमा पहिलो रोजाइमा मात्रै राखेनन् उनकै कप्तानीमा अल्मारिया विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले २-० को जित निकालेको थियो।
उत्कृष्ट प्रदर्शन गरेका पिके ८४ मिनेटमा सब्सिच्युट भएका थिए। ३५ वर्षीय पिकेले खेल सकिएपछि मैदानमा आफ्नो मन्तव्य राख्दै भने, ‘म यहीं जन्मिएँ, यहीं मर्नेछु।’
उनले थपे, ‘जब तपाईं बुढो भएको महसुस गर्नुहुन्छ, कहिलेकाहीँ आफैंलाई माया गर्न समेत छाड्नुहुन्छ। तर म विश्वस्त छु कि म भविष्यमा फेरि यहीं आउनेछु। म बार्सिलोनालाई माया गर्नेछु। त्यस कारण मैले यो समयलाई सही मानेको छु। यो मेरो बिदाइ होइन।’
बिदाइ कार्यक्रममा पिकेका दुई छोरा समेत मैदानमा हिँडेका थिए। उनका सबै साथीहरुले पिकेको जर्सी नम्बर ३ लगाएर सम्मानका साथ बिदाइ गरे।
पिकेले बार्सिलोनाका लागि ५३ गोल गरेका छन्। उनी आफूसँगको कन्ट्रयाक्टको १८ महिना बाँकी छँदै बिदाइ भएका हुन्।
बार्सिलोनामा रहँदा ६१६ खेल खेलेका पिकेले ३० वटा ट्रफी जितेका छन्। उनी सन् २००८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट बार्सिलोनमा आबद्ध भएका थिए।
बार्सिलोनका लागि सबैभन्दा बढी खेल खेल्ने खेडालीको पाँचौं सूचीमा पिके पर्छन्। उनीभन्दा बढी मेस्सीले ७७८, जाभीले ७६७, सर्जियो बुस्केटले ६९४ र आन्द्रे इनिएस्टाले ६७४ खेल खेलेका छन्।
पिकेको भन्दा बढी उपाधि जित्नेमा भने दुई जनाको मात्रै नाम छ। मेस्सीले ३५ र इनिएस्टाले ३२ ट्रफी उचालेका छन्।
पिके स्पेनको राष्ट्रिय टोलीका पनि भेट्रान सेन्टर ब्याक हुन्। सन् २०१० मा स्पेनले विश्वकप जित्दा र सन् २०१२ मा युरोकप जित्दा उनी स्पेनका मुख्य सेन्टर ब्याक थिए। सन् २०१८ मा सन्यास लिएका पिकेले राष्ट्रिय टोलीबाट १०२ क्याप खेलिसकेका छन्।
स्पेनका लागि १०० क्यापभन्दा बढी खेल्ने उनी १३औं खेलाडी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।