सुनसरी- इनरुवाको सतुवागाछी चोकबाट पश्चिमतिर एउटा कच्ची सडक छ। धुले सडकका कारण स्थानीयहरु त्यो बाटोबाट गाडी नपसिदेओस् भन्ने कामना गर्छन्। गाडीले उडाएको धुलोले दायाँ-बायाका घर ढपक्कै ढाकिन्छन्।
त्यही बाटोबाट अघि बढ्दा हामी सुरुमै भेटिएको छाप्रोनजिक रोकियौं। टिनको जस्ताको छाप्रोमुनि मासु पसल चलाइरहेका छन् भक्तबहादुर आलेमगर। दिउँसोको ११ बजेको थियो। मासु किनबेचको समय घर्किसकेकाले आलेमगर कुखुराको आन्द्रा सोहोरिरहेका थिए।
हामी उनको गेटमा झुल्कियौं। हात धोइवरी नजिक आए। हाम्रो कामै सोध्ने। हामीले उनलाई राजनीतिक माहोलले वस्तीमा बास गरे/नगरेकोबाट कुरा सुरु गर्यौं। उनले राजनीतिको कुरामा उति रुचि देखाएनन्।
हामीले क्यामेरा निकालेको देखेर सँगै रहेको किराना पसलबाट कमला मगर नजिकै आइन्। भद्र रुपमा प्रस्तुत हुन खोजिरहेका भक्तबहादुरलाई ओभरटेक गरेर कमलाले भनिन्, 'के राजनीतिका कुरा गर्नु? राजनीति भनेर कुदुन्जेल सुकुम्बासीमा बास भयो, छाडेपछि नम्बरीमा घर छ।'
त्यसपछि हामीले प्रश्न गर्यौं- तपाईंहरु पहिले राजनीतिमा हुनुहुन्थ्यो?
भक्तबहादुरले आफ्नो इतिहास कोट्याउन थाले। जो कुनै समय कम्युनिस्ट पार्टीका पूर्णकालीन कार्यकर्ता थिए। पार्टीको आव्हानमा पञ्चायतकालमा ७ वर्ष भूमिगत भए।
भूमिगत हुनुअघि उनी विराटनगरमा रहेको एक मेटल कम्पनीका जागिरे थिए। उनलाई राजनीतिक अवस्थाका बारेमा जानकारी थियो। त्यसैले पार्टीलाई समेत सहयोग गर्थे। तत्कालीन को-अर्डिनेसन केन्द्रले उनलाई पनि भूमिगत भएर गाउँमा जनता जगाउने काममा लाग्न आह्वान गर्यो। उनी पनि भूमिगत भइदिए। २०३२ सालमा भूमिगत भएका उनी २०३९ सालमा सार्वजनिक भए।
टाठाबाठाहरु राजनीतितिरै लागे। राजनीतिबाट तर मार्न सक्ने उनका सहपाठीहरु बहुदलपछि झन् मालामाल भए। पार्टीले भूमिगत हुन आग्रह गर्दा सर्लक्क जागिर छाडेर हिँडेका भक्तबहादुर फेरि आफ्नै इलम गर्नुभन्दा 'हस्' भनेर सानोतिनो काम गर्न थाले।
कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेसम्म उत्तिकै सक्रिय रहेका उनलाई उति गुनासो छैन। भूमिगत भएर बहुदलका लागि दिएको योगदानबाटै सन्तुष्ट छन्। उनलाई देश र जनताका लागि केही दिनुपर्ने भोक पछिसम्मै रह्यो। उनले भने, 'काम-व्यवसाय गर्नैपर्यो। जीवनमा सधैं राम्रो काम गर्न सकिदैन भन्छन् नि। हो, रहेछ। जति गरियो। त्यति नै भयो।'
२०४८ सालपछि उनी आफू त एमाले भइहाले। गाउँले र आफन्तलाई समेत उक्त पार्टीमा लाग्ने प्रेरित गरे। उनको घरनजिकै भएर सुरु हुने सुकुम्बासी वस्तीसमेत एमालेमय बनाए। अहिले आफ्नो क्षेत्रका नेता र उनीहरुको व्यवहारबाट भक्तबहादुर खुसी छैनन्। आफू सूर्य चिह्नमै रहे पनि पहिलेजस्तो अरुलाई करकाप नगर्ने बताए।
उनले भने, 'अझै पनि मेरो एउटा भोट एमालेलाई जान्छ। पहिला जस्तो अब भोट माग्न भने हिँड्दिनँ। राजनीतिमा खासै रुचि रहेन।'
उनको कुरामा कमलाले थप गरिन्, 'पहिला एमाले पार्टीमा कत्ति हिँडियो। छोराछोरी छाडेर पनि हिँडियो। आमसभा हुँदा मान्छे बटुलेर गाडीमा हालेर लगिन्थ्यो। तर केही पाइएन। कसैले केही गरेन। आफ्नो खल्तीको पैसा सकेर काम गरियो। त्यसको कुनै अर्थ भएन। छोराछोरीलाई समेत आफ्नो मनमर्जीले मत हाल्नु भनेकी छु अहिले त।'
पार्टीका लागि ऊर्जावान उमेर सिध्याएको बताउने कमलाको रिसको पारो अझै ओर्लिएन। उनी थप्दै गइन्, 'जागिर छाडरे पार्टीमा हिँडेर के पायौं? यी अहिले यसरी चार वटा कुखुरा पालेर बस्नु परेको छ। कसैको पार्टीले पनि केही नाप्दैनन्।'
अर्कोपट्टिको पसलकी महिला कुरा सुनेर बसेकी थिइन्। जब चुनावको कुरा आयो उनी हामी भएतिर आइपुगिन्। धुलो बाटो देखाउँदै मेयरदेखि नेतासम्मलाई भनेको तर केही नगरेको गुनासो गरिन्।
इनरुवा नगरपालिकाका मेयरलाई टोल नै भेट्न पुगेछ पिच गरिमाग्न। तर अहिलेसम्म कुनै प्रगति नभएको उनीहरुको गुनासो छ। ती महिलाले भनिन्, 'अब कोही भोट माग्न आयो भने लट्ठी लिएर खेदाउनुपर्छ। कुकुरलाई उठाएर टोपी लगाउने तर नेतालाई भोट नदिने।'
उक्त घरबाट केही मिटर अगाडि हुँदै दायाँ लागेपछि आइपुग्छ सुकुम्बासी टोल। जुन टोलको मध्यतिर घरको आँगनमा भेटिए, तेजबहादुर सार्की। वैशाखीको सहारामा यताउति गर्ने सार्कीले सिधै भने, 'जसले पैसा दिन्छ, उसैलाई भोट दिने।'
थप्दै गए, 'चोर्न हुँदैन। अपांग मान्छे, माग्न केको लाज?' यसअघि आफ्ना दिन बदलिएलान् भनेर निस्वार्थ रुपमा 'राम्रो भनिएका' नेताहरुलाई उनले भोट हाले। २०५२ सालदेखि बसेको घरको लालपुर्जा मागिरहे, नेताहरु आश्वासन दिइरहे।
सार्की जस्तै उनकै छिमेकी देवीबहादुर श्रेष्ठको समेत नेताप्रति मन भाँच्चिएको छ। उनले थपे, 'यही चुनावको बेला आउँछन्। के-के गर्छु भन्छन्। नानीदेखि लागेको बानी के गर्थे?'
उनीहरुका आँखामा कोही नेता सद्दे छैनन्। ढाँटछल गर्नेहरुबाट आजित भएका उनीहरु यसपल्ट 'हाताहाती' गर्ने मनसायमा छन्। सार्कीले थपे, 'एक जना नेताले छोरीलाई जागिर लगाइदिन्छु भनेर दिनुसम्म दु:ख दियो। यिनीहरुलाई चिनिसक्यौं। अब हामी आश्वासनको भर नपर्ने।'
आफ्नै घर अगाडिको बाटो नबनेका कारण नेताहरुको विकासको आश्वासनलाई उनीहरुले पत्याउने आधार नभएको बताए। बाटोतिर देखाउँदै भने, 'यो बाटो खिचेर लैजानू। नेताहरुलाई देखाइदिनू।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।