धनगढी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ को निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दावी गरेका छन्।
गठबन्धन दलभित्र सरकार बनाउने विषयमा अनौपचारिक छलफल नभए पनि निर्वाचनपछि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका हुन्।
नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘आगामी सरकार बनाउने विषयमा गठबन्धन दलभित्र अनौपचारिक छलफल भएको छैन। ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दावी गर्नु स्वभाविक हो।’
महतले अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको स्पष्ट पारे। ‘सबैभन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएका छौं,’ उनले भने।
एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले ८० भन्दा बढी सिट जित्नेमा दावी गरे। उनले गठबन्धनले बहुमत ल्याउने बताए।
उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा थुप्रै विकासका कामहरू गरेको दावी समेत गरे। आगामी सरकारले मुलुकमा स्थिरता दिने र रोजगारी सिर्जना गर्नेमा विश्वस्त रहन महतले आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।