काठमाडौ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सुधार गर्न नसके ठूलो दुर्घटना हुने बताएका छन्।
उनले निर्वाचन जितेर आउनेभन्दा काम गर्न सक्छौ कि सक्दैनौ भन्ने ठूलो चिन्ताको विषय भएको बताए।
शनिबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ द्वारा आयोजित सोलुका मतदातासँगको अन्र्तक्रियामा थापाले अर्थतन्त्र कुनै पनि बेला कोल्याप्स हुनसक्ने चिन्ता रहेको बताए। उनले उद्योगपतिरू सडकमा निस्कनुपर्ने अवस्था आएको भन्दै यसले जनतामा ठूलो नैराश्यता देखिएको र यो आक्रोशमा परिणत भए त्यसले ठूलो विद्रोह हुने चेतावनी दिए।
उनले सरकार र बहुमत आफूहरूसँग हुने तर जनता नहुने अवस्था आउनसक्ने बताए। उनले कांग्रेस सबै आन्दोलनको नेतृत्व गर्ने अनि सम्हाल्न नसक्ने भइरहेको भन्दै यसपटक यो कुरा परिर्वतन गर्नसक्नुपर्ने बताए।
थापाले अब पाँच महिनामा रिजल्ट दिनुपर्ने नत्र जनतामा आक्रोश र विद्रोह हुने बताए। उनले आफू अब सरकारको गाडी चलाउने ठाउँमा पुग्ने आँट पनि गर्ने भन्दै भावी प्रधानमन्त्रीको रुपमा पनि दावी प्रस्तुत गरे।
‘हामी अहिले चुनावमा जाँदैछौँ। मलाई चुनाव जित्छौ कि जित्दैनौँ भन्ने डर छैन। ढुक्कसँग जित्छौँ’, उनले भने ‘तर, चुनाव जितेको भोलिपल्टबाट गर्छौँ चाहिँ के? सरकार बनाउँछौँ। तर, अहिले पनि हाम्रो सरकार त छ नि! सरकार बनाएपछि काम गर्न सक्छौँ–सक्दैनौँ भन्नेमा डर छ।’
उनले बहुमतको सरकारले पाँच महिनासम्म काम गर्न नसके तत्कालीन समयमा ठुलो आक्रोश आउने भएकाले त्यसलाई सम्हाल्न नसकेमा विद्रोह पनि हुने बताए।
अहिले अर्थतन्त्र समस्याग्रस्त भएकाले भएकाले यसलाई सम्हाल्ने सबैभन्दा ठूलो चुनौती रहेको उनले बताए। नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सम्हाल्न नसके ठूलो दुर्घटना हुने उनको चेतावनी थियो।
‘आम मानिसमा ठूलो नैरास्यता देखेको छु। त्यो नैरास्यता संगठित जुन दिन हुन्छ। त्यो नैराश्यता आक्रोशमा बदलिने छ। त्यो शक्तिले सत्तामा बस्नेलाई बगाएर लैजान्छ,’ उनले भने ‘त्यो अवस्थामा हामीसँग बहुमत हुन्छ। सिंहदरबार र प्रदेशमा सरकारमा हामी हुन्छौँ। तर, जनतामा हामी हुँदैनौँ। हामीलाई बढारेर लैजान्छ।’
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले काग्रेसका लागि यो अन्तिम मौका भएको बताए। उनले यो कुरालाई गठवन्धनका नेताहरूले पनि गम्भीरतापूर्वक लिनुपर्ने र आफूले लैजानुपर्ने जिम्मेवारी रहेको बताए। उनले आफू ठूलो घेराबन्दीमा रहेकोसमेत बताए।
साथै, उनले सबै नियमभित्र रहेर प्रचारमा लाग्दासमेत आफूमाथि निर्वाचन आयोग र सामाजिक सञ्जालवाट आक्रमण भएको गुनासो गरे। निर्वाचन आयोगमा आफूले डेंगु परीक्षणबारे जवाफ दिएको र सामाजिक सञ्जालमा पनि त्यस्तै आलोचना खेपिरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।