काठमाडौं– नेपाली गजलमा शास्त्रीयताको खोजी र परिष्कारकै क्रममा अनाममण्डलीका संस्थापक महासचिवसमेत रहेका घनेन्द्र ओझाले लेखेका बहरबद्ध गजलहरूको एल्बम ’शुभेच्छा’ बजारमा ल्याएका छन्।
’शुभेच्छा’मा पाँचवटा बहरबद्ध गजल समेटिएका छन्। नेपाली गजलमा विक्रमको ०६० को दशकदेखि बहरमा गजल लेखनले तीव्रता पाएसँगै सोही क्रममा लेखिएका गजलहरू यस एल्बममा समेटिएको ओझाले बताए। ’जब हामीले अनाममण्डलीमार्फत गजलमा शास्त्रीयताको खोजी र बहरमा लेखन अभ्यास थाल्यौँ, त्यही क्रममा सिर्जना गरिएका गजलहरू यस एल्बममा समेटिएमा हुन्,’ ओझाले भने।
चार पुस्ताको स्वर एउटै एल्बममा
विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत रहेको एल्बममा नेपाली गायन क्षेत्रका चार पुस्तालाई समेटिएको सङ्गीतकार श्रेष्ठको भनाइ छ। उनका अनुसार अघिल्लो पुस्ताबाट गायिका ज्ञानु राणा, त्यसपछि आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, सन्तोष श्रेष्ठ र निशा देशार तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीले एल्बममा स्वर दिएका छन्।
’शुभेच्छा’ एल्बमलाई समावेशी बनाइएको पाइन्छ। पुस्ताका आधारमा मात्र नभएर लैङ्गिक हिसाबले पनि एल्बम समावेशी बनेको छ। यस एल्बममा ६ जनाले स्वर दिएका छन्। ६ जनामा महिला र पुरुषको संख्या आधा÷आधा छ।
बहरबद्ध गजलको पहिलो एल्बम
’शुभेच्छा’ नेपाली गजल गायनका क्षेत्रमा एउटा ऐतिहासिक एल्बमका रूपमा आएको छ। यो बहरबद्ध गजलहरूको पहिलो एल्बम बन्न सफल भएको छ। उसो त घनेन्द्रले बहरबद्ध गजलहरूको पहिलो सङ्ग्रह ’बल्झेर याद तिम्रो, २०६२’ पनि प्रकाशन गरिसकेका छन् भने पहिलो बहरबद्ध संयुक्त गजलकृति ’बहरमाला, २०६३’ र दोस्रो ’गजलमाला, २०६६’ को सम्पादनसमेत गरिसकेका छन्।
यस एल्बममा समावेश गजलहरू सोही गजलकृति ’बल्झेर याद तिम्रो’बाट लिइएको सङ्गीतकार श्रेष्ठले बताए। उनले नेपाली गजल लेखनको सवा सय वर्षको इतिहासमा गजलको खास मान्यता अर्थात् बहरमा लेखिएका गजलहरूको एल्बम बजारमा नदेखिएकाले आफूले यो काम गर्न रुचि देखाएको बताए।
’नेपाली गजल लेखनमा अन्योल र विवाद रहिरहेको पाएँ। यसबीच गजल गायनमा पनि दुविधाहरू देखिए। एउटा प्रयोगकै रूपमा भए पनि यो काम गरौँ भन्ने लागेर अघि बढियो,’ श्रेष्ठले भने।
शुभेच्छाभित्रका गजलहरूमा ’परे म मर्छु भोकले, म दास बाँच्न सक्दिनँ’ सन्तोष श्रेष्ठ र निशा देशारले, ’थिएँ शान्त व्यर्थै चलाएर भाग्यौ’ ज्ञानु राणाले, ’उठाऊ लाजको घुम्टो, बढाऊ हात मायाको’ आनन्द कार्कीले, ’झर्दै छ अश्रुधारा, सम्हाल भन्छु प्यारी’ शिव परियारले र ’फेरि साथ मेरै माग्दै नआउनू’ अस्मिता अधिकारीले गाएका छन्।
एल्बमका गजलहरू पूरै बहरमा लेखिएमा छन्। परिष्कृत बहरमा लेखिएका गजलहरूमा लयको पूर्णपालना गरिएको छ। बहर स्वयंमा परिष्कृत लयसमेत भएकाले बहरबद्ध गजलहरूमा सङ्गीत गर्न निकै सहज हुने सङ्गीतकार श्रेष्ठको अनुभव छ। ’तर, शास्त्रीय सङ्गीत निकट हुन्छ गजल। यसकारण गजलको शास्त्रीय गायनको पक्षलाई पनि ध्यान दिँदै बहरका नियमलाई भङ्ग नगरी सङ्गीत संयोजन गर्नु सामान्य काम पनि होइनरहेछ’, उनले अनुभव सुनाए।
यसभित्रका ’परे म मर्छु...’ बहरे हजज मुसम्मन मक्बुज (छन्दः पञ्चचामर) मा, ’थिएँ शान्त व्यर्थै...’ बहरे मुतकारिब मुसम्मन सालिम (छन्दः भुजङ्गप्रयात्)मा, ’उठाऊ लाजको घुम्टो...’ बहरे हजज मुसम्मन सालिम (छन्दः विधाता)मा, ’झर्दै छ अश्रुधारा...’ बहरे मुजारे (छन्दः दिक्पाल) मा र ’फेरि साथ मेरै...’ बहरे हजज अस्तरमा रचना गरिएका छन्।
नेपाली गजल लेखन परम्पराले सवा सय वर्षको यात्रा पार गरिसकेको छ। युवाकवि मोतीराम भट्टले हिन्दी साहित्य परम्पराबाट नेपाली साहित्यमा भित्र्याएको गजलले यसबीचमा अनेक प्रयोगका आरोह–अवरोह पनि पार गरेको छ। विक्रमको ०६० को दशकयता भने नेपाली गजलले शास्त्रीयता र परिष्कारको बाटो समातेको छ।
यसैक्रममा बीचमा हुँडलिएको र छिरलिएको नेपाली गजललाई परिष्कृत बनाउन अनाममण्डलीलगायतका संस्थाले सङ्गठित प्रयास गरेका पाइन्छ। त्यही क्रममा अनाममण्डलीका स्रष्टाहरूले गजलमा शास्त्रीयताको खोजी गर्न थालेपछि नेपाली गजललेखन र गायनमा व्यापकता आएको देखिन्छ।
यो एल्बममा समेटिएका गजलहरूका केही पंक्ति यहाँ सुन्न सकिन्छः
https://www.youtube.com/watch?v=Da4N7SNO388
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।