धनगढी– नागरिक उन्मुक्ति पार्टीले केही प्रदेशमा आफनो पार्टीको जबरजस्त उपस्थिति रहने हालै सार्वजनिक गरेको आफ्नो चुनावी घोषणापत्रमार्फत दाबी गरेको छ ।
घोषणापत्रमार्फत आफनो पार्टीलाई ‘साइबेरियाबाट उडेको पन्छीको झुण्ड’ रहेको उल्लेख गर्दै ‘अब केही प्रदेश सरकारमा हाम्रो पार्टीको जबरजस्त उपस्थिति रहनेछ’ भनेको छ।
‘हामीले नेतृत्व गर्ने, प्रदेश सरकारले गर्ने कार्यले नै हाम्रो मार्गदिशा निर्धारण गर्नेछ,’ घोषणापत्रमा भनिएको छ, हामी हार्ने छैनौं, थाक्ने छैनौं। आफ्नो अधिकारको लडाइँमा कोही पराया डाक्ने छैनौं भन्ने उद्देश्यका साथ अगाडि लम्किरहेका छौं।’
सो पार्टीले अन्य पार्टीलाई गन्तव्यविहीन, लक्ष्यविहीन, अर्थविहीन राजनीतिक दलहरू संज्ञा दिँदै ‘यिनलाई भड्किएको, भुलेको बोटोबाट सही दिशानिर्देश गर्न नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो’ भनेको छ।
नागरिक उन्मुक्ति पार्टी ०७३ मा भएको टीकापुर घटनापछि अस्तित्वमा आएको हो। त्यो घटनाको दोषी ठहराइएर जेलमा रहेका रेशम चौधरी यो पार्टीका संरक्षक छन्। उनकी पत्नी रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।