काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापाले शुक्रबारदेखि घरदैलो थालेका छन्। चाबहिलको गणेश मन्दिरमा पूजा गरेर त्यो भन्दा पश्चिमतिरको वस्तीबाट उनले घरदैलोको सुरुवात गरे।
स्थानीयमाझ परिचित अनुहार भएकाले जानपहिचानको समस्या देखिएन। उनलाई नाम नभनी सिधै भोट माग्ने सुविधा थियो। कतिले ढुक्क हुन आश्वासन दिए, कतिले 'हस्' भने। कतिले दैलोभित्रै बोलाएर खादामाला र टीकासहित शुभकामना दिए।
झन्डै दुई घन्टाको घरदैलोपछि उनी एउटा घरको आँगनमा पुगे। जहाँ उनलाई स्वागत गर्न उमेरले ८७ को उकालो लागिसकेकी बुढीआमै गेटसम्म आइपुगिन्। उनी अगाडि आइन्, पछि-पछि किस्तीमा फूल, दही र खादामाला आइपुग्यो।
थापा उक्त क्षेत्रमा भोट माग्न आउँदै गरेको उनले केही मिनेटअघि मात्रै जानकारी पाएकी रहिछन्। त्यसैले त्यति तयारी गरेर छतमा उक्लिएकी थिइन्। घरदैलो टोली गल्लीमा झुल्किहाल्यो। उनी हतार-हतार गेटतिर लम्किइन्, हात जोडिरहेका थापाको अनुहार नियालिन् र गमक्क अँगालो मार्दै गालामा चुमिन्।
फेरि खादा लगाउने क्रममा अनुहार नियालिन्। त्यसपछि उनको मुखबाट निस्कियो, 'प्रधानमन्त्री हुने थुतुनो (अनुहार) छ।'
थापा मुस्कुराए मात्रै। शुभाशिष ग्रहण गरेर बाटो लाग्न खोजे। बुढीआमैले रोकिन्, 'मेरो शुभाशिष छ। मैले आशिष लाग्छ।अब प्रधानमन्त्री भनेर नारा लगाऊ।'
घरदैलोका क्रममा उनले धेरै मतदाताको आँखामा आफूप्रतिको विश्वास पाए। राजनीतिको वर्तमान गन्जागोलबाट विश्वास उठिसकेकाहरुले पनि गगनका कारण थोरै भरोसा कायम रहेको बताए।
तिनैमध्येकी एक थिइन्, सुनिता चापागाईं। गगन नमस्कार गर्दै गल्लीको वरपर हेरेर हिँडिरहेका थिए। एउटा गल्ली, त्यसभित्र फराकिलो आँगन र त्यसको भित्तापट्टिको घरबाट एकछिन रोकिने सन्देश आयो।
राजनीति भनेपछि मनैदेखि 'वाक्क-दिक्क' भएको बताउने चापागाईंले थापालाई स्वागत गरिन्। उनले सुरुमै भनिन्, 'म कांग्रेस-सांग्रेस केही होइन। बनस्थली (सिद्धार्थ बनस्थली स्कुल) पढेको भाइ भएकाले शुभेच्छा प्रकट गर्न आएकी छु। तपाईंप्रति हाम्रो भरोसा पनि छ।'
थापा मुस्कुराए। हस् दिदी, भनेर निस्किए। हामी त्यहीँ अल्मलियौं र राजनीतिप्रति वितृष्णा हुनुको कारण सोध्यौं। उनले गोलमटोलमा भनिन्, 'राजनीतिले देशै गन्जागोल भइसक्यो।'
त्यसपछि थापाप्रति थोरै भए पनि सकारात्मक हुनुबारे सोध्यौं। उनको उत्तर थियो, 'स्वास्थ्य मन्त्री भएका बेला उहाँले राम्रै काम गर्नुभएको छ। त्यसले केही गर्ने आशा पलाएको हो। नत्र नेताहरु काम लाग्ने भएनन्।'
उनका व्यक्तिगत आकांक्षा केही छैनन्। देश बनाउन नेताहरु इमानदार भइदिए हुन्थ्यो भन्ने एक सचेत नागरिकको चाहना उनको हो।
उक्त क्षेत्रका धेरै जनालाई खास चुनाव लागेको छैन। तिनैमध्येका एक हुन् किराना पसल चलाएर बसेका रमेश बस्नेत। हामी उनको पसलअघि पुग्दा प्रतिबद्धतापत्र पढ्दै थिए। हामीले उनलाई राजनीतिको रङ बस्तीमा पसे/नपसेको सोध्यौं। उनले भने, 'आजदेखि नेताहरु पस्न थाले। अब लाग्ला नि राजनीति। हामीलाई चाहिँ मतलब छैन।'
मतलब नहुनुको कारण उनले कुनै नेता र राजनीतिक दलले पनि खासै केही गर्ने अपेक्षा नहुनुलाई बताए। हामीले थप खोतल्यौं, 'तपाईंकै क्षेत्रको नेताले प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् त !'
उनको छोटो उत्तर थियो, 'बनाए त हुन्थ्यो तर कहाँ दिन्छन्? नयाँलाई दिए पुराना (शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल) कहाँ जान्छन्? उनीहरु आपसमा बाँडेर हुन्छन्।'
थापा बुलबुले टोलको उकालोतिर लागे। छेउमै रहेका आफ्नो सानो चिया पसलबीचबाट चियाएर लक्ष्मी भण्डारीले शुभकामना दिइन्। साथै आफ्नो समस्याको समाधान गरिदिन आग्रह गरिन्। पहिले नै उनको गुनासो विस्तृतमा सुनिसकेका रहेछन् थापाले। उनले 'बुझेको छु' संकेत गर्दै उकालो लागे।
हामी भने केहीबेर त्यहीँ उभियौं। उक्त टोलमा चार घर सुकुम्बासी रहेछन्। भण्डारीका अनुसार ५५ वर्ष भइसक्यो उनीहरु त्यहाँ बसेको। उनीहरुले आफू बसेको ठाउँको लालपुर्जा वर्षौंदेखि मागिरहेका छन्। तर हालसम्म पाएका छैनन्। उनले भनिन्, 'अन्तिम चोटी यसपल्ट भोट हालिन्छ। उहाँप्रति अलिकति आशा छ। अर्को वर्षदेखि त बुथमा जाने हो, मतपत्र बोकेर घरै फर्किने हो। हामीलाई नगरेपछि हामीले किन भोट हाल्ने?'
नेताहरुको कहिलेकाहीँ मात्रै देखिने अनुहारबाट आफ्नो समस्या समाधान नहुने भन्दै गुनासो मात्रा बढाउँदै गइन्। उनले भनिन्, 'अर्को वर्ष त नेता देख्यो कि ढुंगा हान्ने हो।' चुनावपछि लालपूर्जा पाउने आश्वासन भने उनीहरुले पाएका रहेछन्। 'चुनावले गर्दा रोकियो, चुनाव भएपछि पाइन्छ भनेका छन्,' कुरा टुंग्याउँदै भनिन्।
चुनावी घरदैलोको रफ्तार तेज थियो। हामी त्यति अल्मलिदा थापाको टोली त्यो टोल सकेर अर्कोतिर पुगिसकेको हुन्थे। त्यही रफ्तारमा छोटो कुराकानी भयो। उनले आफू यसपल्ट भोट माग्ने मुद्दा फरक रहेको बताए। निर्वाचित भएको एक वर्षभित्र काम गर्न नसक्दा वर्तमान व्यवस्थामाथि प्रश्न उठ्नै भन्दै त्यो संवेदनशीलतासहित आफू प्रतिनिधि सभामा पुग्ने उल्लेख गरे।
उनल भने, 'मतदातासँग मेरो वाचा हुन्छ। म यो व्यवस्था असफल हुन दिन्नँ। अल्मलिन दिन्नँ। अब त्यहाँ (प्रतिनिधि सभामा) गएर गनगन गर्दिनँ। यो भएन र त्यो भएन पनि भन्दिनँ। अब हामीलाई ड्राइभिङ सिट चाहिन्छ, ड्राइभिङ सिटमा बसेर देशलाई ड्राइभ गर्ने हो भनेर भन्छु।'
थापाको टोली बायाँ गल्लीतिर डोरियो। हामी दायाँबाट मुख्य सडकतिर हिँड्यौं। हाम्रो अगाडि एउटा साइकल गुड्दै थियो। साइकलमा सानो स्पिकर थियो। स्पिकरले दोहोर्याएर भन्दै थियो- आयो-आयो पुरानो कपडा पेलेर सिरक, डस्ना बनाउने मेसिन आयो!
यो त संयोग न हो। होस्, यसलाई राजनीति र त्यसमा पनि उमेर खाएका नेतासँग जोडेर किन हेर्नु?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।