धनगढी- पाँच सय रुपैयाँमा एउटा पोथी बंगुर किनेर २०७३ सालदेखि बंगुरपालन व्यवसायमा होमिएका थिए, भजनी नगरपालिका- ३ का जयबहादुर बुढा। अहिले उनको खोरमा पाठापाठी र माउ गरी चार सय ८२ वटा बंगुर छन्।
आइतबार तीन सय १० पाठापाठी र ४२ माउ मरेपछि उनले स्थानीय तहको पशुपन्छी शाखामा जानकारी गराए। सो शाखाले पनि बंगुर मर्नुको कारण पत्ता लगाउन नसकेपछि पशुपन्छी तथा रोग अन्वेषण शाखा धनगढीमा नमुना पठायो। शाखाले शव परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भयो।
बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिका सञ्चालक बुढा भन्छन्-‘तीन सय ५२ माउ तथा पाठापाठी मरिसकेका छन्। अझै ९२ वटा बंगुर मर्ने अवस्थामा पुगेका छन्।’ उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक देखा परेको सो रोगका कारण ४० लाखभन्दा बढी क्षति व्यहोर्नुपरेको बताए।
एक करोड बढी लगानीमा व्यवसाय गरेका बुढाको जीविकोपार्जनको आधार बनेको थियो बंगुरपालन। तर बंगुरमा देखिएको महामारीपछि कसरी जीविकोपार्जन गर्ने चिन्तामा रहेका छन्। उनले भने, ‘रोगको महामारी नियन्त्रण गर्न कुनै खोप बनेको छैन। तीन महिनासम्म त कारोबार पनि गर्न पाइँदैन। कसरी जीविकोपार्जन गर्ने?’
२०७८ साल चैत १६ गते नेपालमा कागेश्वरी मनोहरा क्षेत्रको बंगुरमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा परेको थियो। यो रोग अहिले नेपालका काठमाडौं, ललितपुर लगायत १० जिल्लामा फैलिइसकेको छ। यो रोगबाट देशभरि २५ हजारभन्दा बढी बंगुरको मृत्यु भइसकेको पशुपन्छी तथा अन्वेषण महाशाखा धनगढीले जनाएको छ।
बंगुरपालन तीव्र रूपमा व्यावसायिक बन्दै गरेको परिवेशमा कुनै ठोस उपचार तथा खोपसमेत नभएको भाइरसजन्य रोग प्रमाणित भएपछि कृषक वा व्यवसायीहरूका लागि यो ठूलै टाउको दुखाइ बनेको छ।
सुदूरपश्चिम प्रदेशमा ४४ हजार तीन सय आठभन्दा बढी बंगुर वार्षिक उत्पादन हुने गरेको छ। बंगुर पालनकै कारण प्रदेशलाई मासुमा आत्मनिर्भर बनाउन सहज हुने भए पनि अहिले रोग देखापरेपछि असर परिरहेको पशुपन्छी तथा पशु अन्वेशषण धनगढीका प्रमुख नरेशप्रसाद जोशीले जानकारी दिए।
उनले भने, ‘यो रोग देशभरका ४० वटा मुलुकमा देखा परिसकेको छ। सबैभन्दा बढी चीनमा बंगुरमा रोग देखिँदा ३० खर्ब क्षति व्यहोरेको थियो। नेपालमा हालसम्म १४ सय बंगर यो रोगबाट मरेका छन्। यसले गर्दा अढाई करोडको क्षति भएको छ।’
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख ३६ हजार सात सय, एक लाख आठ सय १३, बाख्रा ९ लाख ८३ हजार सात सय ४१, कुखुरा २९ लाख ५३ हजार पाँच सय ११ र हाँस १४ हजार तीन सय ८४ उत्पादन हुने गरेको छ।
प्रदेशमा मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलोग्राम माग रहेकोमा प्रदेशमा हालसम्म १० दशमलब ३८ केजी उपलब्धता रहेको छ। प्रदेशमा ३१ दशमलब ९ हजार मेट्रिक टन उत्पादन रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक रहेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को यकिन तथ्यांक छैन।
के हो अफ्रिकन स्वाइन फिभर?
अफ्रिकन स्वाइन फिभर बंगुर/सुँगुर र बँदेलहरुमा भाइरसबाट लाग्ने महामारी रोग हो। पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा र हाल सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा समेत देखा परेको कुरा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ। नेपालभरि र यस प्रदेशका सबै जिल्ला उच्च जोखिममा छन्।
‘अफ्रिकन स्वाइन फिभर’ का कारण कुनै खोरमा शतप्रतिशतसम्म बंगुरहरू बिना कुनै लक्षण रातारात मर्न सक्छन्। कुनै खोरमा भने ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राएर एकै ठाउँमा थुप्रने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेर कालो-नीलो बन्ने र केही दिनभित्रै ठूलो संख्यामा बंगुरहरू मर्ने हुन्छ। मन्द खालको भाइरस भएमा मृत्युदरमा केही कमी हुन्छ। तर अन्य रोगजस्तै बंगुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पीआरआरएस, स्वाइन अजेस्कीलगायत र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग यकिन गर्न प्रयोगशालामा परीक्षण अत्यावश्यक हुन्छ।
यो रोगबाट संक्रमित भई बाँचेका बंगुरहरूले महिनौंसम्म रोगको वाहकका रूपमा काम गर्ने हुँदा सामान्यतया रोग प्रमाणित भएको फार्म वरिपरिको निश्चित क्षेत्रका बंगुरहरू सरकारले नै मार्ने र किसानहरूलाई क्षतिपूर्ति दिने अन्तर्राष्ट्रिय अभ्यास छ। यस्तो अभ्यास देशको कानुन अनुसार फरक हुनसक्छ।
भारतले रोग प्रमाणित भएको एक किलोमिटर वरिपरिका बंगुर मार्ने नीति लिएको छ। तर नेपालमा अहिलेसम्म यसको नियन्त्रणबारे कुनै ठोस नीति नलिइएको डाक्टर जोशी बताउँछन्।
रोग सर्ने मुख्य तरिका
-संक्रमित बंगुर, सुँगुर र बँदेल बीच प्रत्यक्ष सम्पर्कबाट
-रोग पशुको र्याल, रगत, मलमुत्र, मासु वा यिनीहरुको लसपसमा आएका दानापानी लगायतका सामाग्रीमार्फत
-रोगी बंगुर, सुँगुर र बँदेलको ओसारपसार र किनबेचमार्फत
-संक्रमित खोरमा गएको मानिसहरुको कपडा, जुत्ता, चप्पल आदिमार्फत।
रोकथाम
-बंगुर, सुंगुर र बँदेलको खोरमा मानिसहरुको अनावश्यक आवतजावत नगरौं।
-होटल, रेष्टुरेण्टबाट फालिएका खानेकुरा बंगुर, सुँगुर र बँदेललाई राम्रोसँग पकाएर मात्र खुवाऔं।
-घरपालुवा बंगुर, सुँगुरलाई जंगली बँदेलसँग सम्पर्क हुन नदिऔं।
-रोगी बंगुर, सुँगुरलाई जंगली बँदेलको मासु, सुकुटी तथा वातावरणमा भाइरस लामो समयसम्म बाँच्ने भएकोले मरेका बँगुर, सुँगुर र बँदेललाई गहिरो खाडल खनी गाडौं।
-अन्य बथानबाट ल्याइएका बँगुर, सुँगुर र बँदेललाई २१ दिन क्वारेन्टाइनमा राखेपछि मात्र आफ्नो बथानमा मिसाऔं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।