काठमाडौ– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लाभको पदबारे अब अदालतबाट व्याख्या गराउन चाहेको बताएका छन्। बुधबार आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
केहीदिनअघि मेडिकल काउन्सिलकी सदस्य डा तोसिमा कार्कीले लाभको पदमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेजी गरेको थियो। कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले आयोगको निर्णयको विपक्षमा आदेश दिएपछि आयोगको निर्णय विवादमा परेको थियो।
यस विषयमा स्पष्ट पार्दै थपलियाले भने, ‘लाभको पदबारे अदलातबाट व्याख्या गराउन चाहान्छौं। अरु थप अहिले नबोलौं। तर, पेन्सन खाने लाभ हो, तर पद होइन भन्ने भएर उम्मेदवारी कायमै गरेका छौं।’
त्यस्तै, आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा मुख्य दलका शीर्ष नेताहरूसहित ७१ जनालाई स्पष्टीकरण सोधेको बताएको छ।
स्पष्टीकरण सोध्ने काम–कारबाही प्रक्रियाको पहिलो चरण रहेको जनाउँदै उनले त्यसमा चित्त नबुझे आयोगले उम्मेदवारी खारेजसम्म गर्नसक्ने प्रवाधान रहेको बताए। त्यसबारे आयेगले अध्ययन गरिरहेको उनले स्पष्ट पारे।
‘आचारसंहिता कार्यान्वयनमा आएको असोज १२ यता ७१ जनालाई स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण चित्त नबुझेका कतिपय जवाफमा भने आयोगले स्थानीय तहको प्रशासनलाई समेत आग्रह गरेको छ। त्यसमा थप अध्ययनसमेत भइरहेको छ,’ आयुक्त थपलियाले भने।
यस्तै, समाजिक सञ्जालमा संगठित रुपमा निहीत उद्देश्यले प्रचारप्रसार गर्ने समूहलाई भने आवश्यक कारबाहीका लागि आयोगले सम्बन्धित निकायमा आग्रह गरेको थपलियाले उल्लेख गरेका छन्।
निर्वाचनको दिन मंसिर ४ गते सावारी साधनको पूर्ववत सञ्चालनका लागि आयोग परामर्शमा रहेको पनि थपलियाले जानकारी दिएका छन्।
तर, पत्रकार तथा सञ्चारमाध्यमलाई भने स्थानीय तहको निर्वाचनको समयमा जस्तो जटिल प्रावधान नराख्ने थपलियाले जनाएका छन्।
मतगणनस्थलमा सीसीटीभी फुटेज जडानका लागि स्थानीय तहलाई अनुरोध गरिएको तर आयोगले त्यसका लागि विशेष बजेट भने नछुट्याएको पनि थपलियाले जानकारी दिएका छन्।
यस्तै, मतगणनास्थलमा तारजाली लगाएर मतगणना गर्ने कार्य भने निरुत्साहित गर्नुपर्ने थपलियाको भनाइ छ। लोकतन्त्रमा ताराजालीको आवश्ययक नरहने थपलियाको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।