काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा लेखेको प्रतिबद्धताको कार्यान्वयन हुने 'ग्यारेन्टी' गरेका छन्। मंगलबार सार्वजनिक घोषणापत्रमा एमालेले बीस वटा 'ग्यारेन्टी' प्रस्तुत गरिएको छ, जसलाई ओलीले नोटसँग तुलना गर्दै त्यसको भुक्तानी माग्न सकिने बताएका हुन्।
बैंकर अनिलकेशरी शाहसँगको 'डिबेट'मा उनले नेपाल राष्ट्र बैंकले नोटमा भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकले रु. 'यति' तुरुन्त भुक्तानी दिनेछ भन्ने लेख्ने गरेको र त्यसका पछाडि राष्ट्र बैंकको ग्यारेन्टी भएको स्मरण गराए। 'त्यस्तै यो (घोषणापत्रका) हरेक पाना मात्रै होइन। यसको हरेक अक्षर नोट जस्तो हो। जसको ग्यारेन्टी नेकपा एमाले छ। जसको ग्यारेन्टी हामी छौँ। त्यसकारण यी बीस वटा ग्यारेन्टी तपाईंले भुक्तानी माग्न सक्नुहुन्छ', उनले भने।
नोटलाई राष्ट्र बैंकले जिम्मा जमानी लिएर छापेर गभर्नरले सिग्नेचर गरेर पठाएको जस्तै घोषणापत्रलाई पनि आफूहरुले सिग्नेचर गरेर पठाएको उनको भनाइ थियो। 'हामीले त्यो ग्यारेन्टी गरेका छौँ। यसको भुक्तानी जनताले हामीसँग माग्न सक्छ र हामी उत्तरदायी भएर यसको भुक्तानी गर्न तयार छौँ', उनले भने।
ओलीले एमालेको घाममा राखेको बरफको डल्लो पग्लिएर नजाने बताए। 'यो स्थायी कुरा हो र हामीले भनेका छौँ- मंसिर ४, एमाले सरकार। त्यो हाम्रो विश्वास हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।