दाङ-२ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्मा कानुन निर्माण प्रक्रियामा निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने सांसदको रुपमा परिचित छिन्। २०७२ मा गठित केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा उनी सामान्य प्रशासन मन्त्री बनेकी थिइन्। उनी आफ्नो पार्टीका तर्फबाट सचेतक तथा प्रमुख सचेतक समेत बनिसकेकी छिन्। शर्मा २०७० को संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद्/सांसद निर्वाचित भएकी थिइन्।
शर्मा यसपटक नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धामा उत्रिएकी छिन्। पोखरेललाई 'हेबिवेट' उम्मेदवारको रुपमा चर्चा गरिएको छ। तर, शर्मा भने चुनाव 'वेट'का आधारमा नभई अजेन्डाका आधारमा लडिने बताउँछन्। जनयुद्धमा सामेल भई गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत होमिएकी शर्मा अनेमसंघ क्रान्तिकारीको अध्यक्ष, तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य हुँदै उनी अहिले माओवादी केन्द्रको स्थायी कमिटी सदस्य भइसकेकी छिन्। माओवादी जनयुद्धको क्रममा उनी एक वर्ष सैनिक हिरासतमा समेत बसेकी थिइन्। उनै शर्मासँग चुनावी प्रतिस्पर्धाका सन्दर्भमा नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः
दाङ- २ का मतदाता र आम मानिसलाई आफ्नो राजनीतिक यात्रा, मान्यता र उद्देश्यहरुलाई कसरी प्रस्तुत गर्नुहुन्छ?
मंसिर ४ को निर्वाचनका लागि प्रतिस्पर्धामा आएका छौँ। हामीले लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति गठबन्धन बनाएका छौँ। दलगत स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थका निम्ति गठबन्धन बनाएका छौँ। त्यसैले गठबन्धनको औचित्य र आवश्यकता पुष्टि गर्नुपर्ने छ। त्यसको प्रयत्न गरिरहेका छौँ।अर्को, दाङको विकास रसमृद्धिका मुद्दा पनि छ। यहाँको जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ र त्यसलाई सम्प्रेषण गरेर अगाडि बढिरहेका छौँ।
तपाईंले त्यहाँका जनतालाई लक्षित गरेर प्रस्तुत गरिरहेको पार्टीगत र व्यक्तिगत विशेष मुद्दाहरु केही छन्?
यहाँ मूलतः चार पार्टीबीच गठबन्धन भएकाले गठबन्धनकै मुद्दाहरु बढी हुने भए। आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनुपर्ने विषयलाई नै हामीले मुख्य ध्यान दिएका छौँ। व्यक्तिगत रुपमाचाहिँ, हाम्रो समाज तथा राजनीतिक दलहरुबाटनिष्ठाको राजनीति विस्तारै हराउँदै गएको छ। कामभन्दा बढी हावादारी कुरा गर्ने, एक महिना मतदातालाई ठगेपछि पाँच वर्ष जे पनि गर्न हुन्छ भन्ने मानसिकता कायम छ। अब यस्तो मानसिकताबाट मतदाता पनि माथि उठ्नपर्छ।
जनताका प्रतिनिधिले राजनीतिलाई जनताको सेवा गर्ने साधन बनाउनुपर्छ। राजनीति भनेको भ्रष्टाचारको अखडा बन्ने, बदनाम हुने र आम जनतामा दल र नेता भन्नासाथ जुन नकारात्मक छवि बनिरहेको छ। त्यस्तो हुन नदिनका लागि के गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ। यसमा मैले धेरै सकारात्क प्रतिक्रिया पाएको छु।
जनताका अपेक्षा चाहिँ के-कस्तो रहेछ?
चुनावको बेलामा आउने, भोट माग्ने, प्रलोभनमा पार्ने र जितेर गएपछि फर्केर नआउने खालको प्रवृतिको अन्त्य हुनुपर्छ भन्ने जनअपेक्षा छ। २००७ सालदेखि २०६३ सालसम्म हामीले व्यवस्था बदल्ने आन्दोलन गर्यौँ। यसलाई अब स्थायित्व प्रदान गर्नुपर्छ। अब व्यवस्था होइन, अवस्था बदल्ने आन्दोलन गर्नुपर्छ भनेर हामीले पनि भनिरहेका छौँ। हिजो राजनीतिक क्रान्ति र आन्दोलनको नेता बनियो। अब हामी र हाम्रो भावी पुस्तालाई विकास निर्माण र समृद्धिको नेता बनाएर जानुपर्छ भन्ने विषयमा पनि छलफल चलाइरहेका छौँ। त्यसमा सकारात्मक प्रतिक्रिया पाएका छौँ।
तर यति हुँदाहुँदै पनि निर्वाचनको समयमा जनतालाई भ्रम छर्ने काम भइरहेको छ। त्यसले कतैकतै प्रभावित भएको पनि पाइन्छ। तर म जहाँजहाँ पुगेको छ, त्यहाँका मानिसले निष्ठाकै मान्छे खोजेको पाएको छु। छलकपट नगर्ने मान्छे नै खोजेको पाएको छु। बाँकी कुरा निर्वाचन परिणामले देखाउँछ। जुन मंसिर ४ पछि थाहा हुन्छ।
स्थानीय तहको निर्वाचनमा दाङ-२ अन्तर्गतका वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत एकीकृत गर्दा माओवादी कमजोर नै देखिन्छ। अर्कोतिर तपाईं पहिलो पटक त्यहाँ निर्वाचन लड्दै हुनुहुन्छ। चुनौती देखिन्छ। तैपनि तपाईंका जित्ने आधार के हुन्?
माओवादीको मत कम देखिनुको कारण छ। किनकि, घोराही उपमहानगरपालिका १९ वडामध्ये हामीले जम्मा ४ वटा वडामा वडाध्यक्षको उम्मेदवार उठाउन पाएका थियौँ। त्यसैले पनि हाम्रो मत कम देखियो। तर स्थिति त्यस्तो होइन। त्यहाँ गठबन्धनका अन्य दलले पाएको मत उसको मात्रै होइन। कांग्रेस, माओवादी वा समाजवादीले पाएको मत उसको मात्रै होइन।एक अर्काको मत मिसिएको छ। त्यसैले स्थानीय तहको मत हेर्दा प्रष्ट हिसाब आउँदैन। बरु २०७४ को मत हेर्नु बढी सान्दर्भिक हुन्छ।
दाङ- २ मा सबैको मत गन्दा गठबन्धन अगाडि छ। हामी करिब ५ हजार मतले अगाडि छौं। हारेका पनि छौँ र पनि अगाडि छौं। घोराहीका १९ वटा वडामध्ये १५ वटा वडा मात्र यो निर्वाचन क्षेत्र (दाङ- २)मा पर्छन्। बाँकी ४ वटा वडा दाङ-१ तिर पर्छ। यहाँ बंगलाचुली जोडिन्छ। तुल्सीपुरका ४ वटा वडा पनि जोडिन्छ। यस क्षेत्रमा २७ वडा छन्। स्थानीय तहको निर्वाचनमा ती वडामा पाएको मत हेर्दा गठबन्धनपाँच हजार मतले अगाडि छौँ।
फेरि चुनाव भनेको गणित मात्र होइन। अजेन्डाको कुरा हो। हामीले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा, समावेशीताको रक्षा र निरंकुशताको विरोधको अजेन्डा प्रस्तुत गरिरहेका छौँ। अर्को, विकासको अजेन्डा छ। तर हावादारी कुरा गरिरहेका छैनौँ। हामी यथार्थमा आधारित भएर बोलिरहेका छौँ। जे गर्न सकिन्छ, त्यति मात्रै बोलिरहेका छौँ। बोलेका कुरालाई पूरा गर्ने प्रयत्न गर्नुपर्छ भन्ने मान्यतामा छौँ।
हाम्रो जित्ने आधार भनेको गठबन्धनको मत नै हो। यस्तो मतमा हामी अगाडि छौँ। स्थानीय तहको निर्वाचनका बेलामा गठबन्धनभित्र जे-जस्ता देखिएका थिए। ती अहिले हल भएको स्थिति छ। त्यसैले गठबन्धन हिजोको भन्दा पनि बलियो भएर जान्छ भन्ने विश्वास छ। त्यसको कारण छ। प्रतिनिधि सभा भनेको स्थानीय तह जस्तो होइन। स्थानीय तहको निर्वाचनमा हार्दा विकास निर्माणमा सामान्य घाटा लाग्ने कुरा हो। तर संसद्/सांसदले संविधान र कानुन बदल्ने हैसियत राख्छ। त्यसैले संविधान र कानुनको रक्षा गर्ने हाम्रो जुन दायित्व छ, त्यो हामी गर्छौँ भन्ने विश्वास मतदातामा देखेको छु। त्यो पनि जितको आधार हो।
व्यक्तिगत रुपमा मेरो उम्मेदवारीको जुन सन्दर्भ छ। म शीर ठाडो गरेर भन्न सक्छु- मै राजनीतिक रुपमा कमजोरी गरेको छैन। मेरो विरुद्धमा केही भेटिन्छ कि भनेर अहिले 'गुगल सर्च' भइरहेको भन्ने सुन्छु। तर मेरा कमजोरी भेटिएका छैनन्। मैले विगतमा सबै राम्रो काम कति गर्न सकेँ वा सकिनँ भन्ने समीक्षाको कुरा होला। तर गलत काम गरेको छैन। अहिले पनि मैले प्रतिबद्धता गरेको छु- कति राम्रो काम गर्न सक्छु भन्ने कुरा मैले पाउने जिम्मेवारीमा भर पर्छ। क्षमतामा पनि भर पर्छ। तर नराम्रो नगर्नेमा म दृढतापूर्वक उभिन पुग्छु। म राम्रो काम गर्ने अधिकतम कोसिस गर्छु। तर नराम्रोचाहिँ केही पनि गर्दिनँ। मतदाताको शीर झुकाउँदिनँ। मेरो सादगी जीवनलाई मतदाताले सकारात्मक रुपमा लिएको पाएको छु।
गठबन्धन, व्यक्तिगत जीवन, गणतन्त्र प्राप्तिको आन्दोलनमा मैले खेलेको भूमिका, संविधान निर्माणमा मैले खेलेको भूमिका, महिला, दलित र सीमान्तकृत समुदायको अधिकार प्राप्तिको लागि संसद्भित्र मैले खेलेको भूमिका लगातयका कारण चुनाव जित्न सकिन्छ भन्ने मलाई लागेको छ।
कानुन निर्माणमा तपाईंको भूमिका निकै सक्रिय रहेको विगतले देखाउँछ। यस पटक पनि जितेर आउनुभयो भने तपाईंको भूमिका कस्तो हुने अपेक्षा गर्न सकिन्छ?
संसद्मा पुगेपछि मूल रुपमा मेरा तीनवटा भूमिका रहन्छन्। हिजो कानुन निर्माण र विकास निर्माणमा काममा मात्रै सक्रिय हुनुपर्ने स्थिति थियो। तर यसबीचमा संविधानमाथि प्रहार भयो। २००७ सालदेखि २०६३ सालसम्म लगातार ठूलो आन्दोलन गरेर लोकतन्त्र र गणतन्त्र ल्यायौँ। त्यसमाथि कुठाराघात भएको छ। त्यसैले संविधानको रक्षा गर्नका लागि भूमिका खेल्ने नै मेरो प्रमुख दायित्व रहनेछ।
म दाङ- २ बाट निर्वाचन लड्दैछु। म विजयी भएँ भने यहाँको विकास र समृद्धिका अजेन्डालाई अगाडि बढाउन भूमिका खेल्नेछु। अर्को विगतमा मैले कानुन निर्माणमा खेलेको भूमिकालाई निरन्तरता दिनेछु। व्यक्ति-व्यक्ति टिपेर भन्दा पनि कानुनी प्रबन्ध गरेर नै सामुहिक रुपमा उत्पीडित समुदायका अधिकारलाई स्थापित गर्न सकिन्छ भन्ने मेरो गहिरो विश्वास छ। म लामो समय महिला आन्दोलनमा क्रियाशील भएर पनि होला वा महिला उत्पीडन भोगेर आएका हुनाले पनि हुनसक्छ। महिलाका मुद्दामा मेरो स्वतः ध्यान जान्छ। उत्पीडित समुदायको मुद्दामा मेरो ध्यान जान्छ।
हामीले ल्याएको समावेशी व्यवस्थाले सबै उत्पीडित समुदायलाई पहुँचमा पुर्याउने भनेको छ। उनीहरुको आर्थिक जीवन बदल्ने भनेको छ। त्यसका लागि मैले हिजो पनि भूमिका खेलेँ। अब पनि भूमिका खेल्नेछु। त्यसक्रममा मैले आफ्नो क्षमता पनि विकास गर्नेछु। अझ सक्रिय हुनेछु।
यस्ता भूमिका खेल्ने क्रममा मेरो कुनै व्यक्तिगत स्वार्थ रहनेछैन। राजनीतिलाई सकुञ्जेल जनताको सेवा गर्ने माध्यम बनाउने हो। तर सक्ने स्थिति बनेन भने राजनीतिबाट अलग भएर बस्दा राम्रो हुन्छ भन्ने ठान्छु। बेइमानी भने गर्दिनँ। राजनीतिमा निष्ठा र इमान भएका मान्छे पनि छन् है भन्ने विश्वास र आशाको दियो जनतामा जगाइराख्नेछु।
तपाईंको एकजना प्रतिस्पर्धी एमाले महासचिव शंकर पोखरेल छन्। उनी तपाईंभन्दा हेबिवेट उम्मेदवार भएको चर्चा पनि हुने गरेको छ। उहाँसँगको प्रतिस्पर्धालाई कतिको चुनौती ठान्नुभएको छ?
उहाँसँग मेरो व्यक्तिगत रुपमा कुनै आग्रह-पूर्वाग्रह छैन। हुने कुरा पनि होइन। उहाँ पनि राजनीतिक मान्छे हो। चुनाव लड्न आउनुभएको छ। तपाईंले भनेजस्तो यहाँ पनि उहाँ हेबिवेट भन्ने कुरा व्यापक चर्चामा छ। सबैसँग मेरो भनाइ छ, चुनाव अजेन्डाका आधारमा लडिन्छ, 'वेट'का आधारमा होइन। विषयवस्तुका आधारमा लडिन्छ, 'वेट'का आधारमा होइन। पार्टीको पदीय हैसियतले, राजनीतिमा लागेको हिसाबले उहाँ स्वभाविक रुपमा हेबिवेट हो। त्यसमा म मान्छु। तर, गणतन्त्र प्राप्तिको आन्दोलनलाई हेर्यौँ भने, संविधान निर्माणमा खेलेको भूमिकालाई हेर्यौँ भने, कानुन निर्माणमा खेलेको भूमिकालाई हेर्यौँ भने मेरो सक्रियता र भूमिका कुनै हेबिवेटभन्दा कम छ र?
त्यसैले केलाई 'हेबिवेट' भन्ने भनेर हाम्रो दृष्टिकोण पनि बदल्न जरुरी छ भन्ने लाग्छ मलाई। हामीले आजको पदीय हैसियत र हिजो पाएको राजकीय पदलाई हेरेर हेबिवेट भन्ने गरेका छौँ। तर कुरा त्यस्तो होइन। यो भुइँमान्छेलाई माथि ल्याउने व्यवस्था हो। किनकि हामीले समावेशी व्यवस्था ल्याएका छौँ। भूइँमान्छेहरु मेहनत गरेर अगाडि बढे भने उनीहरु पनि हेबिवेट हुन्छन् भन्ने विश्वासमा म छु। त्यसैले हेबिवेटसँगको प्रतिस्पर्धा के होला भन्नेतिर मैले सोचेकै छैन। चुनावको मूल कुरा भनेको अजेन्डा हो। विषय वस्तु हो। उम्मेदवारको छवि हो। उम्मेदवारको विगत र वर्तमान हो, भविष्य पनि आकलन गरेर गरिने मतदान प्रक्रिया हो। त्यसैले त्यसैले कुनै पनि कुरामा मैले असहज महसुस गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।