काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र मतपत्रमा हुने निर्वाचन आयोगले जनाएको छ।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ। निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसै अनुसार तय भएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएकामध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न लिएका छन्।
त्यस्तै नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रुपमा एउटै चुनाव चिह्न लिएका छन्। त्यस्तै सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिह्न लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।