काठमाडौं- निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं मनाङ प्रदेश सभा ‘ख’ का उम्मेदवार दीपक मनाङेलाई स्पष्टीकरण सोधेको छ।
उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा दिएको अभिव्यक्तिले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले २४ घन्टाभित्र जवाफ दिनु भन्दै स्पष्टीकरण सोधेको हो।
‘अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ। ३० लाखमा नेपालमा चुनाव जित्छ यार। मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ।’ उनको दिएको यो अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम मंसिर ४ हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारको लागि कायम गरिएको खर्चको सीमा मिति २०७९ असोज ३१ गतेको नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ।
आयोगले गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेश सभा ‘ख’ को लागि तोकेको खर्चको सीमा रु २३ लाख रहेको छ।
निर्वाचन आचारसंहिताको दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।