काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते दुई गठबन्धनका बीचमा संग्राम हुने बताएका छन्। आइतबार गोरखामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आफूहरु सम्मिलित गठबन्धनले जनतालाई धेरै अधिकार दिन चाहेकाे र अर्को (एमाले नेतृत्वको) गठबन्धनले अधिकार दिन नचाहेकाे टिप्पणी गरे।
‘मंसिर ४ को निर्वाचनमा एकातिर प्रतिगमनका पक्षधर, जनतालाई धेरै अधिकार दिनु हुँदैनथ्यो, राजा महाराजाहरुको अधिकार खोस्न हुँदैनथ्यो भन्नेहरुको एउटा गठबन्धन छ। जनताले पाएको अधिकारको रक्षा हुनुपर्छ र योभन्दा बढी अधिकार चाहिन्छ भन्नेहरुको अर्को गठबन्धन। यो दुईटा गठबन्धनको बीचमा मंसिर ४ गते ठूलो संग्राम हुँदैछ। मतपेटिकामा हुँदैछ। तर संग्राम हुँदैछ। कसले जित्ने फैसला हुँदैछ,’ उनले भने।
उनले आफूहरुले गठबन्धनको माध्यमबाट प्रतिगमनतिर जान खोज्ने प्रवृत्ति, देशलाई फेरि निरंकुशता र अराजकतातिर लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरेको बताए। ‘यो संविधान च्यात्न चाहने, जनताले पाएको अधिकार खोस्न चाहनेहरुको अर्को गठबन्धन बनेको छ। त्यहाँ हिजोका सबै सामन्तवादीहरु, दलालहरु छन् त्यसमा। राजावादीहरु छन्। यो देशलाई एक राख्ने होइन, टुक्र्याउनुपर्छ भन्ने मान्छेहरु पनि छन् अर्को गठबन्धनमा,’ उनले भने।
उनले संविधानले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम सबैको पहिचान र अधिकार दिएको, तर सो संविधानमा हस्ताक्षर गर्ने कतिपयले त्यसलाई उल्ट्याउन खोजेको बताए। उनले भने, ‘त्यसका विरुद्ध हामीले संघर्ष गर्नुपर्यो। र त्यही संघर्षको बीचबाट यो गठबन्धन जन्मियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।