काठमाडौं– निर्वाचन आयोगले राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने बताएको छ। शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा स्पष्ट पारेको हो।
मंगलबार आयोगले ‘नो, नट अगेन’ अभियानले सामाजिक सञ्जालमार्फत गर्दै आएको शीर्ष नेताहरू विरुद्धको ‘क्याम्पेनिङ’ तत्काल बन्द गर्न निर्देशन दिएपछि आयोगको चौतर्फी विरोध हुँदै आएको थियो। यसै परिपेक्षमा आयोगले विज्ञप्तिमार्फत आफ्नो धारणा राखेको हो।
यो सूमहले मुख्य दलका शीर्ष नेताहरूसँगै विभिन्न नेतालाई लक्षित गर्दै उनीहरूलाई आसन्न निर्वाचनमा विश्राम दिनुपर्ने भन्दै अभियान चलाउँदै आएको छ।
‘निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन भन्ने आयोगको बुझाइछ,’ आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।
यस्तै, आयोगले निर्वाचनका समयमा यस्ता खालका राजनीतिक उद्देश्य राखिएका मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले संविधान प्रदक्त अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने तथा मतदाताको सुुसूचित हुन पाउने अधिकार कुण्ठित हुने, मतदातालाई दिग्भ्रमित पार्ने र सही प्रतिनिधि नचुनिने अवस्था सिर्जना हुने चिन्ता पनि व्यक्त गरेको छ।
संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको निर्वाचनका समयमा भरपुर उपयोग होस् भन्ने हेतुल निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, ०७७’ कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।