काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले देशको इज्जत माटोमा मिसाइदिएको आरोप लगाएका छन्।
कांग्रेसले राष्ट्रिय आत्मसमर्पणवादको नीति लिँदै देशको इज्जत माटोमा मिसाइदिने काम गरेको आरोप उनले लगाए।
शुक्रबार झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई भोट माग्दै अध्यक्ष ओलीले कांग्रेस देशको हितको पक्षमा नउभिएको बरु उसले जसरी पनि सत्ता प्राप्त गर्ने नीति लिएको भन्दै कटाक्ष गरे।
सो अवसरमा उनले राष्ट्रिय राजनीति दुई धुब्रमा बाँडिएको बताए।
‘एउटा राष्ट्रियताको पक्ष, राष्ट्रियहितको पक्षमा, राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने शक्ति, अर्काे त्यसविपरित आत्मसमर्पणको नीति, सत्ता स्वार्थको नीति र घुँडा टेकुवाहरू गरी दुईवटामा बाँडिएको छ,’ उनले भने, ‘र, आज एमाले राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार, देशभक्तको बाटो, शान्तिपूर्ण बाटो र विकासको अभियान्ताको रुपमा अगुवाइ गरिरहेको छ।’
ओलीले अहिलेको गठबन्धन सरकार बन्नुभन्दा अघाडि विदेशीलाई सजिलो हुने सरकार बनाइदिन्छौं भनेर वाचा कबुल गरेको आरोप पनि लगाए ।
राप्रपा अध्यक्ष लिङ्देनले विकास गरेकी गरेनन् भन्ने कुरामा धेरै बहस गर्नु नपर्ने बताउँदै ओलीले उनी सरकारमा नभएकाले के विकास गर्ने, के निर्णय गर्ने भन्दै प्रश्न गरे। उनले सरकारमा नभएका पार्टी र सांसदलाई हेर्ने सरकारी नीति फरक रहेको पनि दाबी गरे।
‘राष्ट्रिय पार्टीका रुपमा राप्रपा आउँछ, राजेन्द्र लिङ्देन एक्लो हुँदैन । एमालेको साथमा राप्रपा लागिसक्यो, लागेपछि राष्ट्रिय पार्टी भइयो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।