काठमाडौं– महोत्तरीको पररिया घटनाका विषयमा ८ बुँदे सहमति भएको छ। छठ पर्वको अवसरमा भंगहा नगरपालिका ८ पररियामा हिन्दू बाहिनी सेना सम्राटले निकालेको कलश तथा झण्डा यात्राका क्रममा झडप हुँदा उक्त क्षेत्रमा तनाव उत्पन्न भएको थियो।
बिहीबार बिहान ११ बजेको समयमा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले र्याली निकाल्ने क्रममा झडप भएको थियो।
झडप नियन्त्रणमा खटिएका १३ जना प्रहरीसहित १७ जना घाइते भएका थिए। स्थिति नियन्त्रण गर्नका लागि प्रहरीले ३० राउण्ड हवाइफायर गरेको थियो।
उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको थियो। शुक्रबार जिल्ला प्रशासन कार्यालय, महोत्तरीले स्थानीयहरूको रोहबरमा ८ बुँदे सहमति गरेको प्रमुख जिल्ला अधिकारी दीपकुमार पहाडीले जानकारी दिए।
घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि सिफारिस गर्न टोली गठन गर्ने, घटनामा संलग्न दोषीहरू पत्ता लगाएर कानुनी कारबाही गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयमार्फत नेपाल सरकारसँग अनुरोध गर्ने, घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयसँग अनुरोध गर्ने लगायतका ८ बुँदे सहमति गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।