काठमाडौं– नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ। भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।
नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै गृहमन्त्री खाणले आगामी दिनमा थप सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
नेपालमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै गृहमन्त्री खाणले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताए।
राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। नेपालको विकासमा अमेरिकाले गर्दै आएको सहयोग निरन्तर रहने पनि राजदूत थम्प्सनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।