काठमाडौं– वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चान्नब्बे वर्षकाे उमेरमा आइतबार बिहान निधन भएको छ।
पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ गत कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन्। उनी अविवाहित थिइन्।
श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो। उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकाेमा पाँच दिनपछि घर लगिएको थियो। पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आइतबार बिहान निधन भएको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए। 'नेपाल आमा' सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक थिइन्।
'रू एक अर्बभन्दा बढी सम्पत्ति दान'
धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेकाे सम्पत्ति रू एक अर्बभन्दा माथि रहेको छ।
वरिष्ठ पत्रकार हरि अधिकारीले सामाजिक संजालमा लेख्दै भने, 'मैयाँदेवी श्रेष्ठले मुक्तहस्त गरेको दानबाट खडा भएका स्वास्थ्य-सेवा र शैक्षिक प्रतिष्ठानहरूले उहाँको कीर्तिलाई युगौँसम्म जीवन्त बनाइरहने छन् । उहाँले खोलेका शैक्षिक संस्थाहरूबाट दीक्षित युवाहरूले नेपाली समाजमा पुर्याउँने सेवामा उहाँको सत्कर्मको आलोक फैलिरहने छ आउँदा अनन्त दिनहरूसम्म। '
विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्मभएको थियो।
उनको पार्थिव शरीरलाई आइतबार बिहान ९:३० बजेबाट १०:३० बजेसम्म कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र यसपछि उनी संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए।
पार्टीले शोक वक्तव्य जारी गर्दै आइतबारका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।