काँकडभिट्टा- कात्तिक ३ गते बिहान झापाको धुलाबारीको एक चिया पसलमा राजनीतिक गफको उफान थियो। पानी किन्न रोकिएका हामीलाई गफको स्वादले त्यतै अलमल्यायो। कुराकानी क्रममा एकजनाले ठोकुवा गरे, ‘यसपल्ट त विश्वप्रकाशले चुनाव जित्छन्। अर्को (अग्नि खरेल) त्यति चिनिइएको छैन।’
अर्कोले थपे, ‘विपक्षी चिनाउने काम त विश्वाप्रकाश आफैंले गरिहाल्छन् नि। पोहोरसाल उनलाई हराउने राम कार्कीलाई कतिले पो चिनेको थियो। उनैले ‘बौद्धिक वामपन्थी नेता’ भनेर भाषण गर्दै हिँडे, अनि सबैले चिने।’ एकछिन सबै हाँसे। हामीले लय मिलायौं।
कांग्रेस महामन्त्री तथा झापा- १ का प्रतिनिधि सभा उम्मेदवार विश्वप्रकाश शर्माको जितको ठोकुवा गर्ने स्थानीय बद्री घिमिरे रहेछन्। त्यसमा ठट्टा गर्ने सञ्जोग निरौला। हामीले केहीबेर उनीहरुका राजनीतिक बुझाइ-विश्लेषण सुन्यौं र लाग्यौं काँकडभिट्टातर्फ।
काँकडभिट्टाबाट उत्तर झन्डै ७ किलोमिटर पार गरेपछि पुगियो- मेचीनगर वडा नं ४ बाहुनडाँगी। बस्ती डुल्ने क्रममा माइकको आवाज सुन्यौं। आवाज पछ्याउँदै जाँदा कार्यक्रम स्थल भेटियो। कांग्रेसको मेचीनगर- ४ को चुनावकेन्द्रित सम्पर्क कार्यालय खोल्ने कार्यक्रम रहेछ।
शर्मा पनि त्यहीँ आइपुग्ने कार्यक्रम रहेको जानकारी स्थानीयबाट पाएका थियौं। तर हामी पुग्दा उनी कार्यक्रमस्थलमा थिएनन्। शर्मा स्थानीयको घर–आंगनतिर डुल्दै रहेछन्। स्थानीय नेताहरुले बोलिसकेर आफ्नो पालो आउने समयको हिसाबकिताब गरेर कार्यक्रम स्थलमा पुगे। उनले सम्बोधन गरेपछि कार्यक्रम सकियो।
कार्यक्रम स्थल चियाबारीको बीचमा थियो। त्यहीँ बाहिर रुखमुनि चियाका भारीहरु चाङ लगाएर शर्मालाई सुन्न पुगेका थिए चिया टिप्नेहरु।
चिया जोख्न साहुलाई कुरिरहेका उनीहरु शर्मासँग भलाकुसारी गर्न पुगे। त्यसक्रममा आफ्ना गुनासाका पन्तुरा खोल्न थालिहाले।
आफूहरुले उचित ज्याला नपाएकोदेखि गाउँमा विकास नपुगेकोसम्मका गुनासो सुनाए। ‘बाटोघाटो बन्नुपर्यो। यहाँ केही सुविधा छैन। गर्छु-गर्छु त भन्छन् तर गर्दैनन्,’ सीमा श्रेष्ठले गुनासो गरिन्।
यहाँनेर प्राय: नेताहरुबाट आउने उत्तर हुन्छ- अरुले केही गरेनन्। त्यसैले अब म गर्छु भनेर भोट माग्न आएको! उल्टै थपेर गुनासोसमेत गर्थे होलान्- यस्तै गर्नेलाई जिताउनुहुन्न भन्दै।
शर्मा भने सदाबहार स्वभावमा प्रस्तुत भए, ‘म त हारेको मान्छे। अरुले गरेनन् भनेर भन्न सक्दिनँ।’
स्थानीय चन्द्रकला खतिवडाले बीचमै भनिन्, ‘अब जितेर आएर गर्नुपर्यो नि।’
शर्माले त्यसलाई ‘क्यास’ गरेर सपना देखाउन थालेनन्। ‘तर पनि यसो छ’ भन्दै उनलाई जितेर सांसद हुने एमाले र माओवादी केन्द्रका नेताको पक्ष लिएर उल्टो सम्झाउन थाले, ‘बत्ति आएको कुरो छ। बाटो आइपुगेको छ।’
भगवती काफ्लेले फेरि गुनासो राखिन्, ‘सडक पीच यहाँसम्म पुगेको छैन। गाडीले कहाँनेर लडाउला भन्ने डर हुन्छ। हामी त पछाडि नै पर्यौं।’
शर्माले फेरि पनि सम्झाए, ‘यहीँ तलनेर पिच सडक आइपुगेको छ। केही भएको छैन भन्नुहुँदैन, केही भएको छ तर पर्याप्त छैन। यति गरेर मात्रै पुग्दैन। धेरै गर्न बाँकी छ।’
त्यहाँबाट निस्किँदै गर्दा शर्माले भोटका लागि मौसमी अनुनय पनि गरेनन्। जाँदाजाँदै सोधे, ‘यसपल्ट साथ दिने हो नि?’
सबैले एकस्वरमा भने, ‘साथ दिन्छौं। ढुक्क भए हुन्छ।’ जहाँ शर्माले ‘ढुक्क हुने’ आश्वासन पाए, त्यो वडा एमालेले जितेको छ, त्यो पनि झन्डै तेब्बर मतले। शर्मा मुस्कुराउँदै बाहिरिए।
स्थानीय चिया मजदुरहरुले हामीलाई एकछिन रोके। शर्मालाई नै राखेका गुनासो हामीलाई पनि सुनाए। उनीहरुको मुख्य गुनासो थियो, ‘हामीले खेताला लगाउँदा खानाखाजा खुवाएर एक हजार तिर्नुपर्छ। तर चिया टिप्दा दैनिक ३ सय ५० मात्रै पाइन्छ।’
त्यसअघि सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनको भाषण सुन्यौं। कार्यकर्ता नै बढी उपस्थित भएको ठाउँमा विपक्षीविरुद्ध आगो ओकल्लान् भन्ने पूर्वानुमान पूर्णत: फेल भयो। आफूलाई २०७० सालमा पराजित गर्ने रवीन कोइराला र २०७४ मा पराजित गर्ने राम कार्कीको चिन्ता गरिरहेका थिए। कार्कीले टिकट नै नपाएको पीर पोख्दै थिए, कोइराला प्रदेशमा झर्नुपरेकोप्रति सहानुभूति।
कोइरालाप्रति सहानुभूति थियो, ‘झापा- १ मा चुनाव लड्छु भनेर उहाँ खुदुनाबारीदेखि देवनियाँतिर सर्नुभयो। दुई वर्षदेखि घर बनाउनुभयो। अहिले खर्लक्कै गएर त्यहाँको टिकट अर्कै साथीलाई दिइयो। उहाँमाथि अन्याय गरियो। उहाँको सर्वसम्मत सिफारिस थियो, त्यो पनि लत्याइयो। टिकट नदिइएपछि मेरो २०७० सालको प्रतिष्पर्धी कमरेड उहाँले भन्नुपर्थ्यो ‘मेरा साथीहरुले सर्वसम्मत रुपमा संघमा भनेको छ। लड्ने भए यहाँ लड्छु, नत्र लड्दिनँ। उहाँ पनि खत्रक्क त्यहाँ (प्रदेश सभामा) लड्नुभयो।’
कोइरालामाथि मात्रै सहानुभूति प्रकट गरेर पुगेन शर्मालाई। झापा-१ का अरु केही थान एमाले नेताको ‘प्रचार’ तिर लागे। यहाँनेर भने उनी बाचाल देखिए, ‘२०७० सालमा कलेज (संघ) मा गएको मान्छे, अहिले स्कुल (प्रदेश सभा) मा भर्ना हुन सुहाउँछ त?’ उहाँले आफूलाई पनि अन्याय गर्नुभयो। संघमा त दिएनन्, प्रदेशमा पनि बसेन भने यहाँबाट पनि निकाल्लान् कि भनेर अरु १८ जनालाई अन्याय गर्नुभयो। सायद उहाँ त्यहाँ नभएको भए बाहुनडाँगी गाउँपालिकाको अध्यक्ष भइसकेको मान्छे निलकन्ठ तिवारीले पो अवसर पाउनुहुन्थ्यो कि? उहाँ पनि रोकिनुभयो।’
विपक्षको पक्ष लिएर गरेको प्रहार कार्यकर्ताले बुझे। पर्रर ताली बजाए।
विरोधको संस्कृतिलाई बढावा दिन नचाहेकाे उनले त्यसअघि नै भनिसकेका थिए, ‘कांग्रेसको मञ्चमा उभिएर कम्युनिस्ट खराब भन्न सजिलो छ। कम्युनिस्टको मञ्चमा उभिएर कांग्रेसलाई गाली गर्न पनि सजिलो छ। तर आफ्नै घर सफा पार्ने कुरा गाह्रो छ। आफ्नो घर सफा नगरी संसार सफा गर्छु भनेर हुँदैन।’
अर्काको विरोध मात्रै गर्नुहुन्न भन्ने कुरा बुझाउन उनले उपस्थितलाई प्रश्न गरे- ‘बिहान उठेर अर्काको घर बढारेर आउनुभएको यहाँ को छ? हात उठाउनुहोस् त।’
कसैको हात उठेन।
उनले थपे- ‘हामी आफ्नै घर सफा गरेर आएको हो। तर राजनीतिमा कस्तो रहेछ भने आफ्नो घर सफा पार्नुपरेन, तेरो घरचाहिँ सफा पार न, तिम्रो घर चाहिँ खराब छ। त्यसो होइन, कांग्रेसले कांग्रेसकै घर बढार्ने हो। जसरी बिहान तपाईंले आफ्नो घर बढार्ने हो।’
कार्यकर्तालाईसमेत उनी विपक्ष दलहरुलाई गाली नगर्न प्रोत्साहित गर्दै थिए। उनले थपे, ‘राम्रो काम विपक्षी दलको नेताले गरे पनि राम्रै हुन्छ। नराम्रो काम आफ्नैले गरे पनि नराम्रै हुन्छ। राजनीतिमा परिवर्तन भनेको त्यो हो।’
कांग्रेस टिकट वितरणमा भएका कमजोरीको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवाको भागमा खन्याउन चाहेनन्। पहिलोचोटी महामन्त्री भएर सभापति देउवासँगै टिकट वितरणमा गगन थापा आफू सहभागी भएको भन्दै कमजोरी हिस्सेदारी लिए।
टिकट वितरणको विषयलाई लिएर ‘सहानुभूति’ का शब्दबाटै प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट आफूसँग प्रतिष्पर्धा गरिरहेका अग्नि खरेलविरुद्ध अलिकति आगो झोसे। मीठो भाषामा ‘बाहिरिया’ भएको बताए।
मन्त्री हुँदासमेत काम नगरेको कुरा पनि जेरी जस्तो घुमाएर मात्रै होइन, चास्नी समेत हालेर भनिदिए, ‘मसँग जो चुनाव लड्न आउनुभयो। उहाँको यहाँ आउने चाहनै थिएन। उहाँ मन्त्री पनि बन्नुभयो। मन्त्री भएपछि उहाँ यो भूगोलमा कहिल्यै कार्यक्रममा आएजस्तो लाग्दैन। हात्तिले मान्छे मर्दै गर्दा खोज्दै आए जस्तो त लाग्दैन। कोरोनाका बेला क्यान्टोनम्यान्ट घुम्न आएजस्तो त लाग्दैन। डेंगुको बेला आफू आए पनि नआए पनि विश्वप्रकाश केही न केही कुरा पठाइरहेको थियो। पठाएजस्तो त लाग्दैन। गौरादहको मान्छेको अचानक किन चुनाव लड्न आए भने उनी पेलिए।’
मतदातासँग र कार्यकर्तासँग गरेका कुरा सुनेपछि हामीले शर्मासँगै त्यहीँ कुरा गर्यौं। हाम्रो प्रश्न थियो- चुनावको माहोलमा पनि किन मतदातालाई सपना नेदखाएको? कार्यकर्तालाई लोभ नदेखाएको? ‘म यो गर्छु, त्यो गर्छु । सबै गर्छु भन्दिनँ। विश्वप्रकाश शर्मा धेरै गर्छु भन्दैन, केही गर्छु भन्छ। जति गर्छ इमान्दारिताका साथ गर्छ,’ उनको उत्तर थियो।
कुराकानीकै क्रममा सांसद भएर गएपछि देशको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरामा आफ्नो समर्थन हुने बताए। उनले भने, ‘झापा-१ बाट म निर्वाचित भएर गएपछि अब गगन थापालाई प्रधानमन्त्री बनाउन त। एउटा युवालाई प्रधानमन्त्री बनाउन न त। ४०/४२ वर्षको मान्छेले फ्रान्स चलाउन हुने, चिलीमा ३५ वर्षको मान्छे हुने। हामीकहाँ किन नहुने भन्ने कुरामा अग्रसरता रहन्छ।’
कुनै कारण थापाले उम्मेदवारी दिएनन् भने शर्माले भन्नेछन्- ‘यहाँ समर्थनमा हस्ताक्षर गर। म हुन्छु प्रधानमन्त्री भनेर दाबी गर्ने ठाउँमा निश्चय नै उभिन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।