काठमाडौं– अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको तर आफूले अस्वीकार गरेको बताएका छन्।
अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको तर पार्टीभित्रै संघर्ष गर्ने भनेर आफूले अस्वीकार गरेको बताए।
शनिबार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए।
उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको टिप्पणी गरे। उनले आफू आगामी पाँच वर्षसम्म युवामाझ सक्रिय रहने बताए।
उनले युवाहरुसँग घुलमिल हुने कार्यक्रम आफूले शनिबारबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट सुरु गरेको भन्दै यो कार्यक्रम देशभर नै आयोजना गर्ने योजना रहेको बताए।
‘स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर पनि दबाब नआएको होइन, तर मैले के डिसाइड गरेँ भन्दा, हामी बहुदलीय व्यवस्थामा छौं। धेरै कुराहरु सीमा, बन्धन, नियममा रहनुपर्छ। अहिले म यही फ्रेमवर्कभित्र नै सक्रिय हुन्छु,’ उनले भने, ’तत्कालमा जनमत बनाउने, युवाहरुसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौं ४ बाट सुरु गरेर देशव्यापी रुपमा छलफल म लैजान्छु।’
निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउने उनले स्पष्ट पारे। ‘टिकटको आकांक्षी थिएँ, नपाएपछि मलाई नेकपा एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो। यो कुरा म आज भन्नसक्छु। काठमाडौं–७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ कांग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईंलाई सहयोग गर्छ, तपाईं शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो,’ उनले भने, ‘रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुरेको थियो। कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्शन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न। मेरो तीन पुस्ते कांग्रेस नै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।